उदयपुर, असोज १९ ।
विक्रम सम्वत् २०४२ सालअघि उदयपुरको बिकट क्षेत्र तत्कालिन पोखरी गाउँ विकास समिति (गाविस) अर्थात हाल रौतामाई गाउँपालिकाको वडा नम्बर ४ को अवस्था शैक्षिक रुपमा अन्धाकारमय थियो । पठनपाठनका लागि भौगोलिक असहजतासँगै विद्यालय नहुँदाको पीडा गाउँलेका लागि सामान्य जस्तै भइसकेको थियो । पढ्न चाहना हुँनेहरुले पनि विद्यालय अभावमा गुजारीरहेको अस्तव्यस्त भविष्यका कणर्धारहरुको जीवन देखेर स्थानीय समाजसेवी सूर्यबहादुर खत्रीलाई सो ठाउँका लागि केही गर्ने हुटहुटी जाग्यो ।
तत्कालिन समय बोक्सेस्थित मालपोतमा कार्यालय सहयोगीको रुपमा कार्यरत सूर्यबहादुर खत्रीले हाल रौतामाई गापा ४ नम्बर वडा क्षेत्रको मालबासेमा ४० रोपनी जग्गा खरिद गरे । जसमध्ये उनले २२ रोपनी क्षेत्रफल जग्गामा विद्यालय संचालन गर्ने निणर्य गरे । २०३८ सालमा आफ्नै जग्गामा विद्यालय संचालन गर्ने गरेको निणर्यलाई मूर्त रुप दिन सूर्यबहादुरले २०३९ सालतिर आफैले लगानी गरेर ४ कोठे भवन बनाइदिए । त्यो समय २५ हजार ६० रुपैयाँ ७५ पैसा आफ्नै गोजीबाट खर्च भएको सूर्यबहादुर सुनाउछन् ।
सूर्यबहादुरका अनुसार विद्यालय सुरु हुनेबित्तिकै निकायबाट शिक्षक व्यवस्था हुन असम्भव थियो । तत्काल आफैले विद्यालय संचालन गरेको ३९ सालदेखि ४१ सालसम्म दुई वर्ष शिक्षक पनि आफ्नै खर्चबाट व्यवस्था गरिदिए । ‘मासिक १ हजार र अर्कोलाई ७ सय रुपैयाँ गरेर दुई जना शिक्षक आफैले राखे ।’ सामान्य कार्यालय सहयोगीकै तलवबाट जुटाएको पैसाले आफ्नै लगानीमा २ जना शिक्षकलाई दुई वर्षसम्म सुबिधा दिएर विद्यालय स्थापना गरेको स्मरण गर्दै सूर्यबहादुरले भने, ‘अहिले त्यही विद्यालयमा कक्षा १० सम्मको पढाई हुन थालेको छ ।’
सूर्यबहादुरले दुई वर्षसम्म आफ्नै गोजीको लगानीबाट धानेपछि बल्लतल्ल राज्यको आँखा पर्यो । फलतः सरकारले तत्कालिन सयम सूर्य प्रावि नामबाट स्थापित विद्यालयलाई १ जना शिक्षक २०३९ सालमा दरबन्दी व्यवस्था भयो । सरकारबाट आधिकारिक रुपमा शिक्षक व्यवस्था भएपछि भने सो विद्यालयको भविष्य उज्वल हुँदै गयो । लगातार विद्यालयको अवस्था सुधार हुँदै गएपछि तत्कालिन जिल्ला शिक्षा कार्यालयले शिक्षकहरु व्यवस्था बढाउदै लग्यो । विद्यार्थीको संख्या बढ्दै गयो । आफूले खाईनखाई जम्मा गरेको रकमबाट सिंगो गाउँलेका लागि विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पठनपाठन सुरु भएपछि अभिभावक सबै खुसी भए ।
बिकट गाउँमा विद्यालय स्थापना गरेर शैक्षिक अन्धाकार चिर्दै गाउँमा शिक्षाको ज्योति भित्र्याउने सूर्यबहादुरले जनप्रतिनिधि भएर नीतिगत रुपमै गाउँको विकासका लागि सक्रिय हुने अर्को निणर्य गरे । २०४८ सालमा स्थानीय चुनावमा सहभागी भए । तत्कालीन पोखरी गाविसको वडा नम्बर ६ बाट वडाध्यक्षका लागि उम्मेदवार बनेका सूर्यबहादुर खत्रीले जनप्रतिनिधिको रुपमा पनि स्थानीयको मन जिते । फलतः उनी वडाध्यक्ष पनि भए । तत्कालिन समय खानेपानी, सडक र कृषिको क्षेत्रमा सूर्यबहादुरको योगदान अहिले पनि स्थानीयहरुले महत्वपूणर् रहेको बताउछन् ।
सूर्यबहादुरले तत्काल विद्यालयका लागि उपलब्ध गराएको २२ रोपनी जग्गामा हाल स्वास्थ्य चौकी समेत स्थापना भएको छ । स्वास्थ्यचौकी र विद्यालयकै जग्गादाताका रुपमा समेत रहेका उनलाई भर्खरै सम्मान पनि गरिएको छ । स्थापनाका लागि महत्वपूणर् योगदान दिएको भन्दै संस्थापक पहलकर्ता सूर्यबहादुरलाई विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा सम्मान समेत गरेको प्रधानाध्यापक कमलबहादुर बस्नेतले जानकारी दिए । तत्कालिन सूर्य प्राविको नामले स्थापित विद्यालय हाल सरस्वति माध्यमिक विद्यालय नाम परिवर्तन गरिएको छ ।
चार छोरा र ३ छोरी गरी ७ सन्तानका बाबु सूर्यबहादुर उमेरले ८० पुग्न १ वर्ष मात्र बाँकी छ । तर, शारीरिक अवस्था भने अझै सामान्य अवस्थामै देखिने उनले राज्यको मुख ताक्नुभन्दा सबै नागरिकले आफ्नो देश, समाज र समुदायका लागि आफैबाट परिवर्तनका लागि पहिलो पाईला चाल्न सुरु गर्नुपर्ने बताउछन् ।