उदयपुर। जिल्ला हुलाक कार्यालय उदयपुरले विभिन्न कार्यक्रम आयोजना गरी १५२औँ विश्व हुलाक दिवस मनाएको छ। सन् २०२६ अक्टोबर ९ अर्थात् २०८३ साल असोज २३ गते शुक्रबारका दिन कार्यालयले कर्मचारी सम्मान, सरसफाइ, दीपावली तथा मनोरञ्जनात्मक कार्यक्रमसहित विश्व हुलाक दिवस मनाएको हो।
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय उदयपुर तथा अन्तर्गतका हुलाक कार्यालयमा कार्यरत कर्मचारीमध्ये आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको छ। सम्मानित हुने कर्मचारीहरूमा हुलाकी गौरसिं राई, हल्कारा दिनेश ढकाल, हल्कारा शितल वि।क।, हुलाकी अर्जुन कुमार खड्का र कार्यालय सहयोगी रामु थापा रहेका छन्। उनीहरूलाई कार्यसम्पादनमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो।
त्यसैगरी, कार्यालयबाट आ.व.मा भएका कर्मचारीहरू हुलाकी श्री अमृत बहादुर दुनुवार र हुलाकी श्री देव बहादुर श्रेष्ठलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। लामो समयसम्म हुलाक सेवामा रहेर सेवा प्रवाहमा योगदान पुर्याएका अवकाश प्राप्त कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रमअन्तर्गत असोज २१ गतेदेखि असोज २३ गतेसम्म हुलाक कार्यालय परिसरमा सरसफाइ तथा दीपावली कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। यसले कार्यालयको वातावरण स्वच्छ राख्नुका साथै कर्मचारीहरूबीच आपसी सद्भाव र सहकार्य बढाउन सहयोग पुर्याएको थियो।
यसैगरी, असोज २२ गते जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत कर्मचारीहरूबीच म्युजिकल चियर खेल प्रतियोगितासमेत आयोजना गरिएको थियो। कर्मचारीहरूलाई नियमित कामकाजका अतिरिक्त मनोरञ्जन प्रदान गर्ने तथा आपसी सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
हुलाक अधिकृत खिलाराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला हुलाक कार्यालयका कर्मचारीहरू तथा जिल्लाका सातवटै पालिकाअन्तर्गतका हुलाक कार्यालयका हुलाक प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल र सचिव तुलसी कोइरालाको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य खरिदार असल राईले राखेका थिए भने कार्यक्रम सञ्चालन खरिदार रश्मिता कोइरालाले गरेकी थिइन्।
विश्व हुलाक दिवसले हुलाक सेवाको महत्त्व, यसको ऐतिहासिक योगदान तथा नागरिकसम्म सूचना र सेवा पुर्याउन हुलाक कार्यालयले निर्वाह गर्दै आएको भूमिकालाई स्मरण गराउने अवसर प्रदान गरेको छ। बदलिँदो प्रविधि र सञ्चार माध्यमको विकाससँगै हुलाक सेवामा नयाँ चुनौती थपिए पनि सरकारी सेवा प्रवाह, चिठीपत्र तथा अन्य हुलाकसम्बन्धी कार्यमा यसको महत्त्व अझै कायम रहेको छ।
दिवसका अवसरमा कर्मचारीको योगदानको सम्मान गर्नुका साथै आपसी एकता, सहकार्य र सेवाप्रतिको जिम्मेवारीलाई थप बलियो बनाउने सन्देश प्रवाह गरिएको थियो।