उदयपुर, असार ३२ । उदयपुरको सबैभन्दा पुरानो नगरपालिका त्रियुगाले लामो समयपछि आफ्नै सुबिधासम्पन्न भवन बनाएको छ । त्रियुगा १० नम्बर वडास्थित बाँसबारीमा १२ करोड २६ लाख ३६ हजार दुई सय ६३ रुपैयामा लागतमा निर्मित नयाँ प्रशासकीय भवन निर्माण गर्ने कम्पनीले मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।
ज्ञान ज्योती बिल्डर्स प्राली काभ्रेले २०८२ असार १३ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता रकम भन्दा कम रकममा १२ करोड १३ लाख ७० हजार २ सय ११ रुपैँया ७७ पैँसा भुक्तानी लिएर निर्माण कार्य सम्पन्न गरेको बताइएको छ ।
त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले नव निर्मित भवन विभिन्न कारणले गर्दा उद्धघाटन गरी अहिलेनै संचालनमा ल्याउन नसकिने बताएका छन् । भवन निर्माणको काम सकिए पनि कम्पाउण्ड, फर्निचर, कार्पेटलगायतका काम भने बाँकी नै रहेको छ । भवन बाहिरको खाली जग्गा सम्याएर सजाउन बाँकी रहेको कारण यो आर्थिक बर्षमा काम पुरा गरी नयाँ आर्थिक वर्षभित्र नर्या भवनमा सर्ने योजना रहेको मेयर बस्नेतको भनाई छ ।
मेयर, उप–मेयर, प्रमुख प्रशासकिय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष, सभाहल लगायत विभिन्न शाखाहरुको एउटै भवनमा अट्ने गरी नयाँ भवन निर्माण भएको हुँदा संचालनमा आएपछि पालिकाले गर्ने सेवा प्रवाहमा चुस्तता आउने प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद कोइरालाले बताए । नव निर्मित प्रशासकिय भवनमा फरक क्षमता मैत्री, बालमैत्री, अपाङ्ता मैत्री, लिफ्ट र अन्डर पार्किङको सुविधा रहेको इन्जिनियर निर्मल चौधरी बताउछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार