पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ।
चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो।
बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ।
बन्दीपुर भ्रमणका लागि आउने करिब ५०० पर्यटकमध्ये ३५० भन्दा बढी पर्यटक चिनियाँ रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए। गुरुङका अनुसार चिनियाँका अतिरिक्त भारतीय र युरोपेली मुलुकका पर्यटक पनि बन्दीपुरमा आएका छन्।
अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको गुरुङले बताए।
आन्तरिक तथा बाह्य पर्यटकको चापका कारण अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बन्दीपुरमा कोठा पाउन मुस्किल हुने गरेको छ।
‘बन्दीपुरमा अहिले स्वदेशीभन्दा विदेशी पर्यटकको चाप बढी छ’, गुरुङले भने।
बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन्। बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन्।