उपहार न्यूज
उदयपुर माघ १२
पदमार्ग मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ उदयपुरमा बाघखोर–लिम्चुङबुङ–हलेसी पदमार्ग स्थापित गर्नका लागि उदयपुरका सरोकारवालाहरु एकमत भएका छन् । उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ को बाघखोर हुदै लिम्चुङबुङ–हलेसी पदमार्ग मार्फत पर्यटन प्रबद्र्धन गर्नका लागि स्थानिय तहका जनप्रतिनिधि सहितका सरोकारवालाहरु एक मत भएका हुन् । नेपाली सेनाको पशुपती प्रसाद गणको संयोजनमा शनिवार उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका जनप्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी, पत्रकार विचमा प्रस्तावित पदमार्गको विकासको लागि समन्वयात्मक बैठक आयोजना गरिएको थियो । सो क्रममा नेपाली सेनाको पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्लेले प्रस्तावित पदमार्गको बिषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तावित पदमार्गले उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ८, ४ र ३ रौतामाई गाउँपालिकाको वडा नम्बर १ लिम्चुङबुङ गाउँपालिकाको ५ वटै वडा र छिमेकी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ५ र ७ लाई छुने छ ।
उदयपुरगढी गाउँपालिकाको बाघखोर रौतामाई गाउँपालिकाको माझखर्क हुदै लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यु टप, सुनकोसी नदि पार गरे पछि छिमेकी जिल्ला खोटाङको त्रिधार्मिक स्थल हलेसी सम्मको करिब ६० किलोमिटरको पदमार्ग संचालनमा ल्याउने तयारी गरएको हो ।
सो पदमार्गमा यस अघि उदयपुरका प्रदेश सभा सदस्य नारायण बुर्जामगर, पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई सहितको टोलीले प्रारम्भिक यात्रा सम्पन्न गरेको थियो ।
सो टोलीको प्रारम्भिक यात्रा पछि पदमार्ग संचालनमा ल्याउन सकिने संभावना रहेको टोलीका सदस्य पत्रकार भोटराज राईले बताउनु भयो । पदमार्ग संचालनमा आए उदयपुर जिल्लाको ग्रामिण क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिईएको छ । पदमार्गमा यात्रुले समुन्द्रि सतहको २९० मिटरको सुनकोसी देखि २२१० मिटरको लिम्चुङबुङको एभरेष्ट भ्युटप सम्मको भौगोलिक तथा जैविक विविधतामा रम्न पाउने सेनाको पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्लेले बताउनु भयो ।
उदयपुरको पर्या पर्यटनको विकास, स्थानिय होम स्टेको प्रबद्र्धन, स्थानिय संस्कृतिको प्रबद्र्धनमा पदमार्गले टेवा पु¥याउने लक्ष्य राखिएको छ । पदमार्ग संचालनमा ल्याउनका लागि अब सो क्षेत्रमा सामान्य पूर्वाधारको विकासको आवश्यक रहेको निश्कर्स समेत प्रस्तुत गरिएको थियो । शनिवा सम्पन्न समन्वयात्मक बैठकमा पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले सहित लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापा, होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेविट बस्नेत, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, पत्रकार भोटराज राई, युवा समाजसेवी देव गिरी लगायतको उपस्तिथी रहेको थियो ।
पदमार्गले स्थानिय तहको विकासमा टेवा पु¥याउने र तत्कालै सो पदमार्गमा पदयात्राको कार्यक्रम तय गरिने लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो । पदमार्ग संचालनमा ल्याउनको लागि सो क्षेत्रमा आवश्यक सहजीकरणमा सहयोग पु¥याउने उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्का र रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापाले बताउनु भयो । कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन बर्ष घोषणा गर्ने तयारी गरीरहदा उदयपुरमा पहिलो पटक संचालनमा ल्याउन लागिएको यो पदमार्गले समेत प्रदेश सरकारको पर्यटन बर्षलाई सघाउ प¥याउने जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेविट बस्नेतले बताउनु भयो ।