उपहार न्यूज
उदयपुर कात्तिक १४
उदयपुरको सदरमुकाम गाइघाटस्थित थरुहट रंगशालामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण त्रियुगा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गाइघाट फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सहलेस युवा क्लब सिराहा विजयी भएको छ ।
खेलको पहिलो हाफमा आयोजक गाइघाटका जर्सी नम्बर ९ का अर्जुन रानाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको सहलेस युवा क्लबका जर्सी नम्बर १७ का विज्ञान खड्का र जर्सी नम्बर १३ का अभिषेक लिम्बुले गोल गर्दै टोलीलाई जित दिलाउन सफल भए । प्रतियोगिताको म्यान अफ दि म्याच सिराहाका जर्सी नम्बर ८ का दोर्जे तामाङ भए ।
प्रतियोगिता अन्तर्गत आइतबार चित्लाङ फुटबल क्लब काठमाडौं र न्यु स्टार फुटबल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष रञ्जन कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्रियुगा नगरपालिकाको विशेष सहयोग, जिल्ला फुटबल संघको प्राविधिक सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा गाइघाट फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीबीच प्रतिस्पर्धा र खेल पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।