उदयपुर । नेपालमा प्रतिबन्धित लागुऔषध सहित उदयपुरका तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कटारी नगरपालिका वडा नम्बर– ८ बर्मी घर भएका २२ वर्षीय बिशाल तामाङ, सोही ठाउँका २७ बर्षीय सोम कृष्ण राई र कटारी–३ बस्ने २० बर्षीय करण तामाङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बर्मी स्थायी घर भई कटारी ४ कान्छी बजारमा कोठा भाडामा लिइ बस्दै आएका तामाङको संलग्नता रहेको विशेष सूचना पछ्याउदै जाँदा उनीहरु समातिएका हुन् । उनकै कोठा लागुऔषध गोदामको रुपमा प्रयोग हुँदै आएको पनि उदयपुरका प्रहरी सूचना अधिकारी (डिएसपी) हरिनन्दन चौधरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले कोठा खनतलासी गर्दा ट्रामाडोल चक्कि, स्पेसपेन– १३०चक्कि, एयबिलम (गाँजाको चोप र केमिकल मिसावट) १२६ ग्रामग्राम बरामद भएसँगै तिनै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीको हिरासत कक्षमा राखी अनुसन्धान अगाडि बढाइएको छ । उनीहरुलाई जिल्ला अदालत उदयपुरबाट १२ दिनको म्याद समेत थप भइसकेको छ ।