उपहार न्यूज
गाईघाट मंसीर १५
त्रियुगा नगरपालिका उदयपुरको नव निर्मित प्रशासकीय भवन सोमबार एक समारोहका विच उद्घाटन गरिएको छ । त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा भवन उद्घाटन गर्नु भएको हो । त्रियुगा नगरपालिका वडा नम्बर १० मा निर्माण भएको भवन ज्ञान ज्योति बिल्डर्स काभे्रको निर्माण कम्पनिले सम्झौता रकम भन्दा करिव १३ लाख कम रुपियाँमा अर्थात १२ करोड १३ लाख ७० हजार रुपियाँकमो लागतमा निर्धारित समय भन्दा एक वर्ष अगावै सो भवन निर्माण सम्पन्न गरी नगरपालिका लाई हसतान्तरण गरेको थियो । भूमिगत पार्किङ्ग सहित पाँच तला र ८४ कोठा भएको अपाङ्गमैत्री सो भवनमा शिक्षा,स्वास्थ्य,कृषि र पशु शाखा सहित सम्पूर्ण बिषयगत शाखाहरुले एउटै भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
भवन उद्घाटनका अवसरमा आयोजित समारोलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख वस्नेतले आम नगरवासिलाई अव नगरपालिकाबाट प्रवाह हुने सवै किसिमका सेवाहरु एउटै भवनबाट उपलब्ध गराइने हुदा सर्वसाधारण सवै सेवा ग्राहिलाई पनि सुविधा भएको छ भन्नुभयो । जवकि यस अघि विभिन्न शाखाको काम अलग अलग स्थानमा रहेका भवनहरुबाट गरिदा निकै सास्ती हुने गरेकोथियो ।
नगर उपप्रमुख महेश्वरी राईले २ वटा कोठाबाट सुुरुवात भएको त्रियुगा नगरपालिकाको इतिहास आज चार तलाको ८४ कोठे भवनबाट सुरु गर्न पाउनु आफैमा खुसीको बिषय रहेको बताउनु भयो ।
भवन उद्घाटन समारोह पूर्व त्रियुगा नगरपालिकाको पुरानो भवन देखि पञ्चे बाजा, नेवारी बाजागाजा सहित नवनिर्मित प्रशासकीय भवनमा जनप्रतिनिधि, कर्मचारी र स्थानिय नागरिकहरु पुगेका थिए ।
कार्यक्रममा वेलका नगरपालिका नगर प्रमुख असोक कार्की, चौदण्डिगढी नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलाल, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापा, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, वडाअध्यक्ष तथा जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका कर्मचारी, प्याराडाईज सेकेण्डरी स्कुल, झिगु नेवा पुचः गाईघाटले विभिन्न सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।