उदयपुर, पुस २७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु खिया लागेर थन्कीएको टिप्पणी गरेका छन् । ३०२औँ पृथ्वी जयन्तीको अवसरमा उदयपुर सदरमुकाम गाईघाटस्थित पिपलचोकमा शुक्रबार आयोजित खुल्लासभालाई सम्बोधन गर्दै समिति अध्यक्ष लोहनीले प्रहरी, प्रशासन र अख्तियारलाई प्रश्न तेर्साएका हुन् ।
‘भ्रष्टाचारीलाई पक्राउ गर्ने अख्तियारका हाकिम पार्टीले नियुक्त गर्छ’ आफू अनुकलका व्यक्ति नियमन निकायमा पठाएर दलहरुले लुट मच्याइरहको बताउदै लोहनीले भने, ‘नेताकै आशिर्वाद पाएर कुर्सीमा पुगेका अख्तियारले कसरी घुँसीहा नेता समात्छ ?’ ठूला दल र संलग्न नेताकै छत्रछाँयामा दिनानुदिन देशमा अनियमितता, लुट, घुँसखोर र भ्रष्टाचार, महंगी र कालाबजारी बढ्दै गएको लोहनीले आरोप लगाए । त्यस्तै हरेक क्षेत्रमा हुने राजनीतिकरणले नीति नियम कार्यन्वयनमा समेत असहज हुने गरेको बताए ।
त्यसैगरी देशमा लुटेर र माफियाहरुको तन्त्रका कारण प्रजातन्त्र खतरामा परेको लोहनीको भनाई थियो । उनले प्रजातन्त्र जोगाउन वर्तमान सत्ता र शक्तिको दुरुपयोग गर्दै निजी स्वार्थका लागि देश बर्बाद बनाउनेहरुबिरुद्ध संघर्ष गर्न निर्विकल्प सुझाव रहेका जिकिर गरेका थिए । देशभित्र लगानी सुरक्षित हुने वातावरण सिर्जना गर्ने र उत्पादन बढाएर आयातलाई निरुत्साहित गराउदै निर्यात बृद्धिको नीति अवलम्बन गर्नुपर्ने भनाई लोहनीको थियो । बारम्बार दशकौँदेखि राज्यको वरीपरी परिक्रमा गरिरहने ठूला दलहरुले हजारौँ नेपाली श्रमिकले रोजगार पाइरहेको उद्योग कलकारखानाहरु बेचेर खाएको आरोप थियो । जति ठूला पद उत्तिनै ठूलो भ्रष्टाचार र काण्डमा फसेको तर उपप्रधानमन्त्रीभन्दा माथिका आराोपितबिरुद्ध कारवाही गर्ने प्रहरीले हिम्मत नदेखाएको पनि पूर्वमन्त्री समेत रहेका लोहनीको भनाई थियो ।

यसैगरी राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले वर्तमान ठूला दलहरुको रवैयाकै कारण अहिलेको व्यवस्था धरापमा परेको बताए । जनता आजित भएर बैकल्पिक शक्तिको खोजीमा भौतारिरहेको जिकिर गर्दै गुरुङले त्यसको बिकल्प राप्रपा हुने ठोकुवासमेत गरे । राजनीतिक भागबण्डा र पद बाँडफाडमै जुधेर समय बिताउने नेताहरुले विकासबारे नसोचेकाले देशका लागि घातक निणर्य गर्ने नेतृत्वबिरुद्ध नागरिक आन्दोलनमा उत्रनुपर्ने उनको सुझाव थियो ।
यता राप्रपा उदयपुरका जिल्ला अध्यक्ष ध्रुव रायमाझीले पनि पार्टीको पछिल्लो लोकप्रिय कदमहरुका कारण जनतामा सकारात्मक आशा बढ्दै गएको बताए । एकता दिवसको रुपमा मनाइने पृथ्वीजयन्तीलाई राज्यले विशेष रुपमा मनाउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा पृथ्वीनारायण शाहको तस्वीर माल्याणपन गर्नुका साथै पृथ्वीनाराण शाह र राजसंस्थासम्बन्धी नारासहित गाईघाट बजारको बिभिन्न चोक परिक्रममा गरेको थियो ।
