उदयपुर । पछिल्लो समय पूर्वको १४ जिल्लालाई समेटेर बनेको तत्कालिन प्रदेश १ लाई ‘कोशी’ नामाङ्करण भएपछि आन्दोलनरत किराँत राई यायोक्खा (किराया)को त्रियुगा नगर कमिटिले जनप्रतिबिधि बोलाएर आन्दोलन समीक्षा गरेको छ । पहिचान पक्षधरले प्रदेशको नामबारे असन्तुष्ट जनाउदै चर्काइरहेको आन्दोलनमा यायोक्खाको बिगत र वर्तमान भूमिकाबारे समीक्षा भएको हो ।
किराया त्रियुगा नगर कार्यसमितिले बुधबार आयोजना गरेको समिक्षात्मक कार्याक्रममा आयोजकले त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईलाई प्रमुख अतिथीको रुपमा बोलाएको थियो । किराँत राईहरुको जातीय संगठन यायोक्खाको समीक्षामा बोल्दै उपमेयर राईले पहिचान स्थापित गराउने सवालमा आफू पनि उत्तिकै गम्भीर रहेको बताएकी थिइन् । ‘पहिचानका लागि हाम्रा समुदायले पनि आफूलाई सक्षम बनाउन जरुरी छ’ राईले भनिन्, ‘राज्यको नीति नियमलाई पनि पालना गर्दै बैचारिक रणनीतिक मार्गबाट पहिचानको विषय उठान गर्नु उपयुक्त देखिन्छ ।’
गाईघाट स्थित साकेला थान परिसरमा आयोजित कार्यक्रममा पहिचानको सवालमा हालसम्म संगठनको त्रियुगा नगर कमिटिले गरेका गतिबिधिबारे सहभागीहरुले समीक्षा गरेका थिए । त्रियुगा यायोक्खाका १६ वटै वडाका नेतृत्वसँगै भातृ संस्थाका पदाधिकारी समेत सहभागी रहेको कार्यक्रममा गाईघाटमै उपलब्ध जिल्ला र केन्द्रिय स्तरका नेताहरुको उपस्थिती नभएको भन्दै व्यापक गुनासो उठेको थियो । आन्दोलनको समय वडा, नगर, जिल्ला र केन्द्रबीच त्रिपक्षीय समन्वय हुनुपर्ने बेला नगरको कार्यक्रममा माथिल्ला तहका नेतृत्व अनुपस्थित हुनुलाई समन्वय अभाव देखिएको स्रोतको भनाई छ ।