उदयपुर । ७ प्रदेशमध्ये सबैभन्दा कान्छो नामाङ्करण ‘कोशी’को बिरुद्ध पूर्वको १४ जिल्ला आन्दोलनमय बनेको छ । बिभिन्न जातिय संघसंस्थाहरुले जनभावना बिपरित पहिचान निमिट्यान्न पार्ने मनसायले कोशी प्रदेश नाम दिइएको भन्दै तत्काल खारेज गरी पुनः नामाङ्करणको माग गर्दै आन्दोलन चर्काएका हुन् ।
किराँत राई यायोक्खाको अगुवाईमा अन्य बिभिन्न जातीय संस्थाहरुको ऐक्यबद्धतामा आम हड्ताल घोषणा गरिएको थियो । आइतबार हालको ‘कोशी’ प्रदेशभरीका १४ जिल्ला बन्दको घोषणा गरिएको भएपनि यसको प्रभाव भने सामान्य मात्र देखियो । पूर्वको इटहरी, दमक, धरानलगायतका ठाउँमा लगभग पूर्ण रुपमा बन्दको प्रभाव देखियो भने अन्य ठाउँमा सामान्य थियो ।
यता उदयपुर जिल्लाको बिभिन्न बजारमा पनि बन्दको प्रभाव मिश्रीत देखिएको थियो । जिल्लामा सबैभन्दा बढी चौदण्डीगढी नगरपालिकास्थित बेल्टार बजार पूर्ण रुपमा ठप्प देखिएको थियो । त्यहाँ बन्दकर्ताहरु बिहानैदेखि बजारको मुख्य भागमा निस्कीएर सवारी आवागमन र व्यापार व्यवसाय ठप्प बनाएका थिए । बन्दकर्ताहरु एकाबिहानै कुर्सी र बेन्च लिएर बपपार्क र चोकमा बसी छोटो र लामो दूरीका सबै सवारीसाधन बनेको थियो ।
सदरमुकाम गाईघाट बजारमा भने बन्दको खासै असर देखिएन । बजारमा बिहानै देखि पसलहरु खुलेका थिए । सवारीसाधनहरु समेत निर्बाद रुपमा गुडीरहेको अवस्था थियो । बन्दकर्ताहरुको समेत कुनै उपस्थिती नदेखिएकाले असर नपरेको व्यापारी सुमन थापाले बताए ।
जिल्लास्थित बन्द आव्हानकर्ताले व्यापक सूचना नगर्दा पनि सर्वसाधरणले बन्द थाहा नपाएको जनजाति युवा अगुवा तथा राजनीतिज्ञ भैरव श्रेष्ठले बताए । किराँत राई यायोक्खा, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, शेर्पा संघलगायतले अघिल्लो दिन साँझ मसाल जुलुस प्रदर्शन गर्दै बन्दको आव्हान गरेका थिए । तर, आईतबार बन्दको समय भने आव्हानकर्ताहरु सडकमा देखिएनन् ।