उदयपुर । केही दिनअघि ‘कोशी प्रदेश’ नामाङ्करणको बिरोधमा उदयपुरस्थित बिभिन्न जातिय संस्थाहरुले सडक संघर्ष थालेका छन् । जिल्लास्थित आदिवासी जनजाति घटक बिभिन्न संघसंगठन र केही राजनीतिक दलसमेतको सहभागितामा आन्दोलन चर्किएको हो ।
बिरोधस्वरुप आन्दोलनकारीले शनिबार साझ उदयपुर सदरमुकाम गाईघाट बजारमा राँके जुलुस निकालेका थिए । प्रहरीको कडा उपस्थितीका बीच भएको बिरोध प्रदर्शनमा सुरक्षार्थ खटिएका प्रहरीसँग सामान्य मसाल खोसाखोस समेत भएको थियो ।
अन्तिम समय नाम दिइएको प्रदेश कोशीलाई पुनः नामाङकरण हुनुपर्ने भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन् । जुलुसमा सहभागीहरुले कोशी प्रदेश खारेज गरी ‘किराँत’ प्रदेश नाम दिइनु पर्नेमा जोड दिएका थिए । उनीहरुले प्रदेशका मुख्यमन्त्रीको समेत चर्को बिरोध गरेका थिए । संघीयता र पहिचानको बिरोध गर्नेहरुलाई समेत सचेत रहन उनीहरुले राँकोसहितको जुलुसमा नारामार्फत सचेत गराएका थिए ।
गाईघाटस्थित बिपी चोक उतर बिद्युत लाईन नजिकैबाट सुरु भएको राँके जुलुस मुख्य चोक हुँदै पिपलचोकमा टुंगिएको थियो । त्यसलगतै कोणसभालाई आदिवासी जनजाति महासंघ आबद्ध घटकका नेतृत्व तथा सहभागी दल संघीय समाजबादीका जिल्ला नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले प्रदेश पुनः नामाङ्करण गरेर सभ्यताको रक्षा गर्न किराँत नबनाए ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्ने चेतावनी समेत दिए ।
किराँत राई यायोक्खासहित आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, मगर संघ, शेर्पा संघसहितका दर्जनौ प्रतिनिधि राँके जुलुसमा सहभागी भएका थिए । सो क्रममा पिपलचोकमा उनीहरुले मुख्यमन्त्रीको पुत्लासमेत जलाएका थिए ।
आज नेपाल बन्द
त्यस्तै आन्दोलनको पूर्व सार्वजनिक स्वरुप अनुसार आज (आईतबार) उदयपुर बन्द हुने भएको छ । जनभावना बिपरित प्रदेशको नाम षड्यन्त्रपूर्वक कोशी राखिएको भन्दै पुनः नामाङ्करणका लागि दबाब दिन आन्दोलनरत पक्षले आम हड्ताल घोषणा गरेको हो । आमहड्ताल कार्यक्रम प्रदेश भरीका १४ जिल्लामै रहने जनाईएको छ । चैत ५ गते बिराटनगरमा मुख्यमन्त्रीको कार्यालय घेराउसँगै विसाल शक्ति प्रदर्शनको कार्यक्रम समेत सार्वजनिक भएको छ ।