उपाहार न्यूज
उदयपुर असार १०
कोरोना भाइरस संक्रमितको खोज तथा उद्धारमा खटिएका नेकपा एमाले त्रियुगा नगर कमिटीका नेता कार्यकर्ता राहत वितरणमा जुटेका छन् ।
खोज तथा उद्धारका क्रममा आर्थिकरुपले विपन्न रहेका परिवारको पहिचान खुलेपछि नगर कमिटीले त्यस्ता परिवारलाई राहतको प्याकेज अघि सारेको हो । गाउँ गाउँमा परिचालन भएका नेता कार्यकर्ताले पहिलोचरणमा वडानम्बर ३,४,८,९,११ र १२ मा अतिविपन्न परिवारको पहिचानपछि एक सय ३७ परिवारलाई राहत वितरण गरिएको नगर कमिटी अध्यक्ष सृजना दनुवारले बताईन् ।
राहतअन्र्तगत चामल, दाल, चिनी, नुन लगायतका दैनिक उपभोग्य सामग्री (खाद्यान्न)उपलब्ध गराएको उनले बताईन् । उनले भनिन्, ‘नगर र वडा कमिटीका नेता कार्यकर्ता गाउँ गाउँमा संक्रमित खोज्दै जानेक्रममा कतिपय जनताको चुलोमा आगोसमेत बल्न छोडेको देखियो, त्यसैले उहाँहरुलाई सहयोग गरेका हौ ।
लामो समयदेखि जिल्लामा निषेधाज्ञा जारी रहँदा दैनिक काम गरेर खाने मजदुर परिवार भोकभोकै बस्नु पर्ने अवश्था देखेपछि आफुहरुले सहयोग गर्नु परेको उनको भनाई छ । उनले थपिन, ‘त्यस्ता परिवारलाई राहत पुर्याउन सम्बन्धित निकायलाई अनुरोध गर्दा सुनवाई नभएपछि, आफैले स्रोत खोजी उपलब्ध गराएका हौ ।
यसरी गाउँ गाउँमा परिचालन भएको टोलीले विरामीको अवश्था हेरेर उद्धार गरी वाहिर पठाउने, परीक्षण प्रकृयामा सघाउ पुर्याउने र विपन्नको पहिचान गर्ने कार्य गरेको उपाध्यक्ष सागर नेपालले बताए । केहिदिन अघि नगर कमिटीले मदन भण्डारि आँखा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ आईसोलेसन सेन्टरलाई ३० थान अक्सिजन सिलिण्डर हस्तान्तर गरेको थियो ।
बिपद्को घडीमा रोग र भोग दुबै चुनौतिलाई सन्तुलित गर्न पार्टीले ‘विपद्मा एमाले भन्ने मुलनाराकासाथ अभियान सञ्चालन गरेको अध्यक्ष दनुवारको भनाई छ । उनले भनिन्, बिपद्को समयमा सहयोग गर्नु मानवीय धर्म पनि भएकाले नगर कमिटीका सदस्यले आफै पैसा जम्मा गरी राहत सुरु गरेका हौ ।
अध्यक्ष दनुवारले भनिन्, ‘यो संकटको घडीमा पार्टी संगठन निर्माण भन्दा पनि जनताको जनजीविकाको सवाल रहेकाले सामाजिक काममा अग्रसर हुनु पर्ने देखिन्छ । ‘महामारीबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु हाम्रो दायित्व हो, अप्ठेरो पर्दा स्थानीय पार्टी कमिटी पनि जनताकै साथमा छ । उनले भनिन ।