उपहार न्यूज
गाईघाट असार ३२
उदयपुरको त्रियुगा नगरपालिका–११, पी.जी. चोक, असारी रोडस्थित सगरमाथा मल्टिस्पेसालिटी हस्पिटल प्रा.लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ । अस्पतालको बुधबार आयोजित एक समारोहबीच त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्तकुमार बस्नेतले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा नगरप्रमुख बस्नेतले जिल्लावासीलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको सगरमाथा मल्टिस्पेसालिटी हस्पिटलले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालहरूले सरकारी स्वास्थ्य सेवाको भार कम गर्नुका साथै नागरिकलाई आफ्नै जिल्लामा विशेषज्ञ उपचार सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अस्पताल व्यवस्थापनका अनुसार उद्घाटनको अवसरमा सर्वसाधारणलाई विशेष स्वास्थ्य सेवा प्याकेजसमेत उपलब्ध गराइएको अस्पताल संचालक कपिल सुवेदिले जानकारी दिनु भयो । उद्घाटनकै दिन ओ.पी.डी. सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिएको छ भने आई.पी.डी., प्रयोगशाला, एक्स–रे तथा ई.सी.जी. सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। साथै बिरामीलाई आवश्यक पर्ने औषधि निःशुल्क वितरण गरिएको र पहिलो १०० जनाका लागि थाइराइड परीक्षण रु. २५१ मा गर्ने विशेष व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।
अस्पतालले भविष्यमा विशेषज्ञ चिकित्सकमार्फत विभिन्न रोगको उपचार, आधुनिक प्रयोगशाला सेवा तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै जाने लक्ष्य लिएको जनाएको छ ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। अस्पताल सञ्चालनमा आएपछि उदयपुरका नागरिकले जिल्लाबाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।