Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध, कतिपय स्थानमा एकतर्फी सञ्चालन

  • उपहार न्यूज
  • आइतबार, साउन १० २०८३
मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध, कतिपय स्थानमा एकतर्फी सञ्चालन

काठमाडौं, साउन १० – देशका विभिन्न जिल्लामा अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा रहेको र केही स्थानमा निश्चित समयका लागि सवारी आवागमन रोकिएको जनाएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिम क्षेत्रमा मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, खोटाङको दिक्तेल–रूपाकोट मझुवागढी क्षेत्रमा मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको बी.पी. राजमार्गमा सम्भावित बाढीका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको कान्तिलोकपथमा पनि जोखिमका कारण बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्र, दोलखाको लामाबगर–रामेछाप सडकखण्ड तथा रसुवाको त्रिशूली–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
गण्डकी प्रदेशअन्तर्गत बागलुङको कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ भने मुस्ताङको जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा) सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
नेपाल प्रहरीले अत्यावश्यक कामबाहेक प्रभावित सडकमार्गमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Last updated:2026 Jul 26 Sunday 01:51:35

प्रतिक्रिया
सम्बन्धित समाचार