उपहार न्यूज
उदयपुर माघ ६
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उदयपुरको दुई निर्वाचन क्षेत्रबाट ३१ जनाको मनोनयन दर्ता भएको छ । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट विदुर बस्नेत, नेकपा एमालेबाट दुर्गा थापा, नेपाली कम्युनिष्ट पार्टीबाट बलदेव चौधरीको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अमृत बहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ, नेपाली जनता दलबाट कुशेश्वर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाल जनमुक्ति पार्टीबाट गोकर्ण राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि फुयल, नागरिक सर्वोच्च पार्टी नेपालबाट प्रशान्तकुमार राई, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट बद्रिबिक्रम राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल, राष्ट्रिय जनमोर्चाबाट लिल बहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णु बहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुभाषचन्द्र खड्का, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, संयुक्त नागरिक पार्टीबाट सुरेस राई र स्वतन्त्र बाट देवराज रोकाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता क्षेत्र नम्बर २ मा पनि दलहरुले उत्साहजनक मनोनयन दर्ता गराएका छन् क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अम्बर बहादुर रायामाझी, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, जनता समाजवादी पार्टीबाट केशव बहादुर मगर, नेपाल कम्युनिष्ट पार्टी (माओेवादी) बाट दुर्गा बहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट पूर्ण बहदाुर बुढाथोकी, आम जनता पार्टीबाट बम बहादुर मगर, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट भास्कर राई, नेपाली कांग्रेसबाट रामकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णु बहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेश कुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्यबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार मेजरकुमार राई सहित १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उदयपुरमा आगामी फागुन २१ गते हुने निर्वाचनमा कुल २ लाख ३८ हजार ९ सय २६ मतदाता रहेका छन् । जस अन्तर्गत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा चौदण्डिगढी नगरपालिकामा ४० हजार ३ सय ४९, बेलका नगरपालिकामा ३४ हजार २ सय र त्रियुगा नगरपालिकामा ६८ हजार २ सय ५५ गरी कुल १ लाख ४२ हजार ८ सय ४ मतदाता रहेका छन् । त्यसैगरी उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा उदयपुरगढी गाउँपालिकामा २० हजार ८ सय ७९, रौतामाई गाउँपालिकामा १४ हजार ९ सय ९३, लिम्चुङबुङ गाउँपालिकामा ८ हजार ६ सय ८९, कटारी नगरपालिकामा ४१ हजार ४ सय ६ र ताप्ली गाउँपालिकामा १० हजार १ सय ५५ गरी कुल ९६ हजार १ सय २२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दिपक दाहालले जानकारी दिनु भयो । उदयपुरमा ८ पालिकाका ७५ वडामा फागुन २१ मा हुने निर्वाचनमा १०३ मतदान स्थल र २७५ मतदान केन्द्र स्थापना हुने निर्वाचन कार्यालयले जनाएको छ ।