उपहार न्यूज
उदयपुर मंसीर २५
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले १९ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट डा. नारायण खड्का, विदुर बस्नेत र लक्ष्मी परियारको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट संजिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको छ ।
यता समानुपातिक तर्फ नारायण बहादुर कार्की, सत्यनारायण चौधरी, सिता राई र रामकुमारी साहको नाम सिफारिस गरिएको नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती हिमाल कार्कीले जानकारी दिनु भयो । यता राष्ट्रिय सभा तर्फ हेरम्ब बहादुर थापा, अर्जुनकुमार खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लीङ, सुमन परियार, जनमजय राई, हिरामान मोते र संजा दनुवारको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्रीय समितिको मंसीर २४ गते बसेको बैठकबाट सिफारिस गरेको नामहरुको आधारमा विहिबार बसेको कांग्रेस जिल्ला समितिले नामवली सिफारिस गरेको हो ।
कांग्रेस क्षेत्र नम्बर १ का कार्यवाहक क्षेत्रीय सभापती सरोजकुृमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार सिफारिसको लागि केन्द्रले बनाएको मापदण्डको आधारमा उम्मेदवारको नाम सिफारिस गरेको थियो । उता क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामकुमार खत्रीको अध्यक्षतामा बसेका समितिको सिफारिसमा भने केन्द्रको मापदण्ड भन्दा धेरैको नाम सिफारिस भए पछि जिल्ला समितिको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष, समानुपातीक र राष्ट्रिय सभाको लागि मापदण्ड अनुसार नाम सिफारिस गरेको जिल्ला सचिव राजेशचन्द्र श्रेष्ठले बताउनु भयो ।