Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साहित्य/कविता

तैँले बुझ्नु पथ्र्यो काठमाडौं !

  • उपहार न्यूज
  • बुधबार, बैशाख १० २०७७
तैँले बुझ्नु पथ्र्यो काठमाडौं !

काठमाडौं ! तैँले बिर्सनु हुँदैनथ्यो कि,
यो खाल्डोको हरेक नाला र खोल्साहरूमा बगेका हाम्रा खुनहरू हुन्
तैँले बिर्सनु हुँदैनथ्यो कि,
यी ढुंगेधारा र नल्काहरूमा तप्.. तप्.. चुहिरहेका हाम्रा पसिनाहरू हुन्

काठमाडौं तैँले बुझ्नु पथ्र्यो
तेरा यी साँघुरा सडकहरुमा
हामीले हाम्रा फराकिला छाँती बिछ्याएका थियौँ
तेरा यी अँध्यारा गल्लीहरूमा
हामीले हाम्रा उज्याला आँखा टाँगेका थियौँ
त्यही हाम्रा आँखा खोसेर तैँले दुनियाको झिलिमिली हेरिरहिस्
तर, हाम्रा धिपधिपे सपनाको मूल्य कहिलै फर्काइनस्
र पनि कहिलै गुनासो गरेनौँ

तैँले बुझ्नुपथ्र्यो काठमाडौं
तेरा शीतल निवास र बालुवाटारका पिलरहरू
हाम्रा अस्थीपञ्जरले बनेका हुन्
ती भित्ताहरू..
हाम्रा छाला काढेर बनेका हुन्
तेरा सिंहदरवार र बाँगदरवारहरू
हाम्रा मुटु र कलेजाबाट बनेका हुन्
तेरा धरहरा र घण्टाघर
हाम्रा खुट्टाले उभिएका हुन्
तैँले बुझ्नु पथ्र्यो काठमाडौं
तेरा अग्ला अग्ला महल उठाउन
हामीले हाम्रो आलो रगतको भोग चढाएका थियौँ
तेरा ठूला ठूला चाहना सजाउन
हामीले हाम्रा साना साना रहर बिर्सिएका थियौँ

तैँले बुझ्नु पर्थ्यो काठमान्डु
तेरा हरेक गाँसमा हाम्रो पसिनाको शुगन्ध
तेरा हरेक श्वासमा हाम्रो आयुको आर्द्रता
तेरा हरेक कोलाहलमा हाम्रो जीवनको लय
तेरा हरदिन निस्कने रछ्यानहरूमा
हामीले हाम्रा दैनन्दिन गुजारेका थियौँ र तँलाई सिँगारीरहेका थियौँ
तेरा हरसाँझका अनैतिक क्रियाकलापका धब्बाहरू
हरबिहान पखालिरहेका थियौँ,
तैँले थुकिरहिस् यत्रतत्र– हामीले पुछिरह्यौँ,
तैँले बिस्ट्याइरहिस् निर्लज्ज– हामीले धोइरह्यौँ,
तँ उज्यालोमा मातिरहिस्
तर पग्लिदै गरेको मैनलाई कहिलै देखिनस्
र पनि हामी सधैँ जलिरह्यौँ

तैँले बुझ्नुपथ्र्यो काठमाडौं
तेरो पेट भर्न
हामीले खाली पेट कारखाना चलाइरह्यौँ
तेरो प्यास बुझाउन हामी मरुभूमि झैँ सुकिरह्यौँ
तँ रमाउन हामी रोइरह्यौँ
तँ निदाउन हामी ब्युँझिरह्यौँ
हाम्रो निद्रा खोसेर मस्त निदाइरहिस्
तर, ब्युँझिएर आभारको मुस्कान कहिलै दिइनस्
र पनि हामीले पहरा दिइरह्यौँ ।

तैँले बुझ्नुपथ्र्यो काठमाडौं
यी आँधी बेहेरी एकदिन अन्त्य हुनेछन् र
तैँले हामीसँग आँखा जुधाउनु पर्नेछ ।
के त्यो हिम्मत तँ सँग छ ?

  • शरद पोखरेल
    घोराही, दाङ
    हाल : जापान

 

Last updated:2020 Apr 22 Wednesday 13:06:52

प्रतिक्रिया
सम्बन्धित समाचार