त्रियुगा । त्रियुगा डान्स च्याम्पियनको वर्कशप राउण्ड सफलतापूर्वक सम्पन्न भएको छ। १५६ जना सहभागीबाट सुरु भएको प्रतियोगितामा छनोट प्रक्रियापछि ६५ जना प्रतिभाहरू वर्कशप राउण्डमा सहभागी भएका थिए। कार्यशालामा सहभागीहरूलाई नृत्यको आधारभूत ज्ञान प्रदान गरिएको थियो। यस अन्तर्गत नृत्यको परिचय, नियम, महत्व, प्रकार, आधार र तत्वहरूको विस्तृत अभ्यास गराइएको थियो। साथै लोक तथा आधुनिक नृत्यसम्बन्धी प्रशिक्षण, भाव अभिव्यक्ति र अभिनयका विभिन्न नवरसहरूको बारेमा समेत व्यावहारिक अभ्यास गराइएको आयोजकले जनाएको छ। यसैगरी, कार्यशालामा इन्टरनेश्नल व्युटिसियन एकेडेमी का तर्फबाट सेल्फ मेकअपसम्बन्धी विशेष प्रशिक्षण पनि प्रदान गरिएको थियो, जसले सहभागीहरूको व्यक्तित्व विकासमा थप सहयोग पुगेको बताइएको छ। कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाकी पूर्व उपप्रमुख देवी चौधरी, त्रियुगा नगर प्याब्सनका कोषाध्यक्ष नविन राई तथा लिबर्टी माईक्रो इन्स्योरेन्स् कम्पनीकाका शाखा प्रमुख शंकर सुनुवार ले संयुक्त रूपमा गर्नुभएको थियो। त्यसैगरी, समापन समारोह त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उहाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रमका प्रशिक्षक तथा आयोजक संस्था विङ्स इन्टरटेन्मेन्टका अध्यक्ष एवं नृत्य निर्देशक एमजे मिथुन ले नृत्य कला समाज र संस्कृतिसँग गहिरो रूपमा जोडिएको विषय भएकाले सबैले सिक्न आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार नृत्यलाई पुस्तान्तरण गर्न नसकिएमा नयाँ पुस्तामा हाम्रो संस्कृति लोप हुने खतरा रहेको छ। साथै, बढ्दो लागूऔषध दुर्व्यसनबाट युवापुस्तालाई जोगाउन खाली समयलाई नृत्यमा सदुपयोग गर्न सके आत्मनिर्भर बन्न सकिने र नाम तथा दाम दुबै कमाउन सकिने उहाँले उल्लेख गर्नुभयो। प्रतियोगिताको आगामी चरण भदौ ६ र ७ गते सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।