उपहार न्यूज
उदयपुर भाद्र १९
धेरैलाई बाँसको उपयोगिता बारे थाहा छैन् । सामान्य वार वेरा गर्ने, टाटी बुन्ने, घरको छानोमा भाटाकोरुपमा प्रयोग गर्ने र सुके पछि दाउरा बाल्ने भन्ने मात्र थाहा छ । त्यसैले खेतीयोग्य जमिन, वारीमा भन्दा पनि खोला किनारा छेउमा लगाउने चलन छ ।
अन्य कामभन्दा पनि खोला किनारा र पहिरो जाने ठाउँमा बाँस लगाउँदा नदी कटान र पहिरोबाट केहि मात्रमा भएपनि जोगाउन सकिन्छ भन्ने बुझाई छ । गाउँघरमा काठको विकल्पकोरुपमा केहि समयका लागि तत्काल बाँसको प्रयोग गरिन्छ । घाम पानीले भेट्यो भने मक्किने, धँुलिया लाग्ने भएकाले त्यसको विकल्प खोज्ने गरिन्छ ।
तर, यसलाई सहि उपचार गरेर प्रयोग गर्न सके तीन दशक बढि समय टिक्ने मजवुद घर बन्छ भन्ने विरलै थाहा छ । त्यसकारण पनि प्रायःजसो सानो छदैँ तामालाई भाँचेर तरकारीकोरुपमा प्रयोग गर्ने, कम उपयोगी भएकैकारण माग्न आउनेलाई सित्तैमा दिने, पशुचौपायलाई घाँस खुवाउन पात पलाउनसाथ काटने र बढ्न नदिने चलन गाउँघरमा अहिले पनि छ ।
बाँसको सहि उपचारको विधीलाई उदयपुरको त्रियुगा नगरपालिका वडानं ३ र ४ मा प्रयोगमा ल्याइएको छ । हयाबिट्याट फर ह्युम्यानिटी नेपाल, त्रियुगा नगरपालिका र मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरको सहकार्यमा बाँसका ४२ वटा घर निर्माण कार्य सुरु गरिएको हो ।
त्यसमध्ये एक दर्जन घर निर्माण सम्पन्न भईसकेका छन् र बाँकी निर्माणाधिन अवश्थामा रहेको हुरेण्डेकका कार्यक्रम संयोजक तथा इन्जिनियर धुर्वराज कार्कीले बताए । उनका अनुसार दशै भित्र कम्तिमा बीस वटा घर सम्पन्न हुने छ । उनले भने, ‘भुक्तानी प्रकृया केहि ढिलाई भएर बाँस ल्याउने काम रोकिएको छ, अव हामी छिट्टै काम अघि बढउछौ र यो दशैमा बीस घरले त्यहीँ घरमा बसेर मनाउन पाउनु हुने छ ।
खाँचोमा परेका परिवारलाई किफायती आवास उपलब्ध गराउने दातृनिकाय हयाबिट्याट फर ह्युम्यानिटी नेपालको लक्ष्य हो त्यसकारण काममा ढिला हुने अवश्था नरहेको बताए । संस्थाले चालु आर्थिक बर्षमा त्रियुगा र चौदण्डिगढी नगरपालिकामा ३० वटा थप नयाँ घर बनाउने उनले बताए ।
नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले नगर भित्रका गरिव, असाह्य, दलित जसको आर्थिक अवश्थाले नै घर बनाउन सक्ने छैन् त्यस्ता व्यक्तिलाई आवासको व्यवस्था गर्नु नगरपालिकाको दायित्व भएको बताए । उनले भने, ‘नेपालको संबिधानले नै सबै नागारिकलाई आवासको व्यवस्था गरिने छ भनिएको छ, उक्त व्यवस्थालाई कार्यान्वयनमा लगेका हौ ।
मेयर बस्नेतले आफ्नो कार्यकाल भरी एक हजार परिवारलाई बाँसको घर निर्माण गरी आवास उपलब्ध गराउने लक्ष्य रहेको बताए । त्यति मात्र नभई घरसँगै शौचालय, पीउने पानी र घर नजिक करेसाबारी बनाई सागसब्जि तरकारी उत्पादन गरी वातावरण र स्वास्थको हिसावले समेत उनीहरुलाई अव्वल बनाउने योजना रहेको बताए ।
बस्नेतले भने, ‘घरविहीन र भएका घरमा पानी वाहिर नजाने गरी दिनरात कटाउन बाध्य भएका त्यस्ता गरिव, दुःखीका लागि यो योजनाले मलमपट्टी लगाएको छ । भुकम्पको कम जोखिम र कम लागतमा घर निर्माण हुने भएकाले अन्य सर्वसाधरणलाईसमेत यस्ता प्रकृतिका घर निर्माण गर्न उनले आग्रह गरेका छन् ।
कति लागत पर्छ
कस्तो डेकुरेसन, कति कोठा र साईजको निकाल्ने र कत्रो घर बनाउने भन्ने रोजाईको बिषय सम्बीन्धत व्यक्तिकै हो । त्यहीँ अनुसारको नापनक्सा र लागत सहितको स्टीमेट बन्छ । तर अहिले निर्माण भईरहेका घर दातृनिकायको सहयोगमा बनेकाले उनीहरुले बनाएका नाप, नक्सा, साईज र मुल्य नै अन्तिम हो ।
नगरपालिकाको स्टिमेट अनुसार एक किचनसहित दुई वटा कोठा, वरण्डा, सिढी र शौचालय तयार हुँदा घरको लागत ५ लाख ३८ हजार ६४० रुपैँया लाग्ने कार्यक्रम संयोजक कार्कीले बताए । उनले भने, ‘झापा जिल्लाबाट उपचार गरि ल्याईएको बाँस, सिमेण्ट, रड, जस्तापाता, प्यान, किलाकाँटी, व्लक, दंक्ष र अदंक्ष मिस्त्रि ज्याला सबैको खर्च त्यसमा जोडिएको छ ।
‘त्यसमध्ये दुई=दुई लाख संस्था र नगरपालिकाले गरी चार लाख बाँकी श्रमदान वापत उपभोक्ता समिति र सम्बन्धित घरधनीले व्यहोर्ने गरी सम्झौता भएको छ उनले भने, ‘घर बनाउने पैसा नभएपनि श्रमदान गर्न सक्छ भनेरै यस्तो सहमति गरेका हौ ।
त्रियुगाका कहाँ कहाँ बन्दैछन्
घर निर्माण सुरु गर्नु अघि नगरपालिकासँग सम्झौता गरी कहाँ कहाँ बनाउने भन्ने बिषयमा संस्थाका केहि सर्तसहित सूचना प्रकाशन गरीन्छ ।
आर्थिक रुपले विपन्न, अशक्त, सकेसम्म दलित हुनु पर्ने, नम्बरी, ऐलानी जस्तो भए पनि जग्गा हुनु पर्ने ऐलानी भए नगरपालिकाले भत्काउन नपाउने गरी सहमति गर्नु पर्ने व्यवस्था छ । सोही अनुसार पहिलोचरणमा त्रियुगा नगरपालिका वडानं ३ र ४ का बस्ति छनौटमा परेका हुन् ।
वडानं ४ को शिवशक्ती टोलमा निर्माण हुँदै गरेका २३ घर मध्ये १३ घर दलित परिवार र बाँकी मिश्रीत समुदाय छ । वडानं ३ चाँपमा पनि दलित बस्तिलाई नै प्राथामिकता दिईएको उपमेयर महेश्वरी राईले बताईन् । यसपछि चालु आर्थिक बर्षमा वडानं २, ५ र १० का बस्तिमा निर्माण गर्न नगरपालिकाले भुक्तानी गर्नु पर्ने एक करोड रुपैँया विनियोजन गरिसकिएको उनले बताईन् ।
त्यसैगरी चौदण्डिगढी नगरपालिकामा पनि चालु आर्थिक बर्षमा नमुनाकोरुपमा सोही संस्थाबाट निर्माण गर्ने गरी दश वटा घरका लागि वजेट व्यवस्था गरिएको उमेयर मणिकादेवी दुलालले बताईन् । उनले त्रियुगामा बनेको घर देखेर नै नमुनाकोरुपमा लैजाने योजना बनाएको बताईन् ।
घर धमाधम निर्माणका क्रममा मेयर बस्नेत सहित गएको अनुगमन टोलीलाई स्थानीयले धन्यवाद दिए । नयाँ घर पाएपछि निकै खुशी मुद्रामा देखिएकी वडानं ४ शिवशक्ती टोलकी निरुमाया कार्कीले भनिन्, ‘उमेर पुगेका छोरा छुट्एिर गए, वुढेसकालमा यहीँ छानो चुहेको घरमा वित्ला भन्ने लागेको थियो, नगर सरकारले नजर लगाईदिनु भयो सारै खुशी छु ।
उनी मात्र हैन् नयाँ घर पाएकी मनमाया परियार भन्छिन, ‘यतिको घर बन्छ र राम्रोसँग बस्न पाईन्छ भन्ने कल्पना नै गरेको थियनौ, जे होस हामी जस्ता गरिवको पनि दिन आउने रहेछ । पुरानो घरलाई देखाउँदै शिवशक्ती टोल सुरक्षित आवास उपभोक्ता समितिका अध्यक्ष धरमबहादुर सार्की भन्छन्, ‘त्यहीँ घर हो जुन घरको आकाशबाट बर्सिएको पानी घर वाहिर जाँदैन्, सबै घर भित्रै खस्थ्यो, अव अहिले हाम्रा लागि घरले ठुलो काम गरेको छ ।
सरकारी एजेन्सीसँगको साझेदारीमा स्थानीय स्रोतको अधिकतम प्रयोग गरी संस्थाले आवास, लघुवित्त र बजार विकास कार्यक्रमहरु सञ्चालन गर्दै आएको ह्याबिट्याटका इन्जिनियर विकास घिमिरेले बताए । ३५ बर्ष आयु रहेको घर भुकम्प, जंगली जनावार, हावापानीबाट सजिलै जोगिन सकिने उनले बताए ।
उनले भने, ‘सर्वसाधारणलाई १२ महिनै घाम पानी र आँधी हुरीबाट बचाई राख्न सुरक्षित आवास गृह निर्माण सुरु गरेका हौ । परियोजनाले निम्न आय भएका र सीमान्तकृत परिवारकालागि घर निर्माणमा योगदान पुरयाई सामाजिक परिवर्तनमा सघाउ पुर्याएको उनले बताए ।
सचेतना अभियान
कुनै पनि नयाँ कामको थालनी गर्दा त्यस बिषयमा सर्वसाधरणलाई जानकारी दिन र बुझाउन सकिएन भने त्यसको औचित्य रहँदैन् । त्यसकारण प्रचार प्रसार र सचेतनाका कार्यक्रम अनिवार्य छ ।
कार्यक्रम अन्र्तगत संस्थाले उपचार गरिएको बाँसको उपयोगिता र वजार प्रर्वद्धन सम्बन्धी सरोकारवालासँगको अन्र्तक्रिया गरेको छ । बाँसको वजारिकरण, उपयोगिता, न्युन लागत र उपचार विधीका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए ।
उनले भने, ‘खेर गएको वारी, जमिन, खोला छेउछाउमा कम मेहनतमा बाँस उत्पादन हुने भएकाले यसको उपयोगितालाई मध्यनजर गरी व्यापारी र किसानलाई प्रोत्साहन गर्नु पर्ने देखिन्छ । कार्यक्रममा बाँस विज्ञ प्रनव प्रधान, कृष्ण अर्याल र अभिषेककुमार झाले बाँसको उपयोगिताका बारेमा सामग्रीहरु प्रस्तुत गरेका थिए ।
उनीहरुले स्वदेश तथा विदेशमा बाँसको प्रयोग यसबाट बनेका प्रविधि, सामग्री, यसका फाईदा, उपयोगिता, सहि प्रयोग बारे जानकारी गराएका थिए । उनीहरुले बाँसका बिषयमा विश्वभर भईरहेका असल अभ्यास, चुनौती र अवसरका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी संस्थाले बाँसको घरको विशेषताका बारेमा जानकारी दिन युवाहरुलाई स्वंयसेवकको भूमिका निर्वाह, पर्याप्त आश्रयको वकालत र किफायती आवासको समर्थन गर्न सचेतना अभियान सुरु गरेको छ ।
त्रियुगा नगरपालिका वडानं ३ बाट सुरु गरिएको अभियानमा ४५ जना युवा स्वयंसेवक, नागरिक समाजका प्रतिनिधि र हयाबिट्याट सामुदायिक घरधनीहरुको सहभागिता रहेको अध्यक्ष थापाले बताए । अभियानमा जोडिएका स्वयंमसेवकले निर्माणचरणमा रहेका बाँसका घरहरुको जग निर्माण र घर निर्माण गर्न चाहिने ब्लक बनाउन सहयोग पुर्याउने उनले बताए ।