गाइघाट, उदयपुर। उदयपुर जिल्ला साइकल संघमा आबद्ध त्रियुगा नगरपालिका–११ निवासी दुई साइकलप्रेमी दाजुभाइ बिजु श्रेष्ठ र प्रदिप श्रेष्ठ कोशी प्रदेशको पहाडी भूभाग हुँदै सोलुखुम्बुको फाप्लुसम्म करिब २९० किलोमिटर सातदिने साइकल यात्रा गर्ने तयारीमा जुटेका छन्। कार्तिक ९ गते बिहान गाइघाटस्थित पिपल चोकबाट उदयपुर जिल्ला साइकल संघ गाइघाटका साइकल टिमले र झिगु नेवा: पुच: गाइघाट्ले यात्रीहरुलाइ सफल यात्राको कामनाका साथ बिदाइ गरेका छन। यात्रा समुद्री सतहबाट करिब २०० मिटरदेखि २,५०० मिटरसम्मको उचाइ रहेको छ। मौसम, समय र सडकको अवस्थाले साथ दिएमा फाप्लुबाट घुर्मी र कटारी हुँदै साइकलमै गाइघाट फर्किने योजना पनि उनीहरूले बनाएका छन्। फाप्लुदेखि घुर्मी–कटारी हुँदै गाइघाटसम्मको दूरी करिब १८४ किलोमिटर रहेको र पुरापुरी ४८४ किलोमीटर साइकलमा यात्रा गर्ने लक्षित बोकेर अघि बढेका छन। साइकलिस्ट बिजु श्रेष्ठका अनुसार यो यात्रा गन्तव्यमा पुग्ने उद्देश्यमा मात्र सीमित छैन। बाटोमा देखिने प्राकृतिक सुन्दरता, पहाडी भूभाग, गाउँबस्तीको जीवनशैली र स्थानीय परिवेशलाई नजिकबाट नियाल्दै यात्राका हरेक पललाई रमाइलो बनाउनु पनि यसको मुख्य उद्देश्य हो । बढ्दो प्रदूषण न्यूनीकरणमा साइकलको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै साइकल चलाउँदा स्वास्थ्यमा पुग्ने फाइदाबारे सकारात्मक सन्देश फैलाउने उद्देश्यसमेत यात्रासँग जोडिएको उनले बताए। “हामी हतारमा गन्तव्यमा पुग्नुभन्दा यात्रालाई नै सुन्दर बनाउँदै, प्रकृतिसँग रमाउँदै र आपसी सहयोग तथा मित्रताको भावना साटासाट गर्दै अघि बढ्नेछौँ,” बिजुले भने। प्रकृतिको सुन्दरता र साहसिक यात्राको अनुभवसँगै यस यात्राले आत्मज्ञान, सकारात्मक सोच र व्यक्तिगत शान्तिको महत्त्वलाई समेत जोड दिएको छ। साइकलले आफूहरूलाई यात्रामा जोडेको उल्लेख गर्दै बिजुले यस यात्राले आपसी मित्रता, सहकार्य र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। गाइघाटदेखि फाप्लुपुगि फर्की गाउघाटको करिब ४८४ किलोमिटरको यो यात्रा उनीहरूका लागि दूरी पार गर्ने अभियान मात्र नभई प्रकृति, मित्रता, आत्मचिन्तन, प्रदूषण न्यूनीकरण र शान्तिको अनुभूतिसँग जोडिएको विशेष प्रयासका रूपमा रहने अपेक्षा गरिएको छ।