किरण प्रसाद ढुंगाना
देउरी असोज १८
त्रियुगा नगरपालिकाका १३ वटा सामुदायिक बनमा राखिएका सिसि क्यामेराबाट खिचिएका बन्यजन्तुका फोटो र भिडियोहरू प्रदर्शन गर्दै, सरोकारवालाहरूसँग विशेष विचार गोष्ठी सम्पन्न भएको छ। सरस्वती सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रकृति संरक्षण र बन्यजन्तु संरक्षणमा सामुदायिक वनको भूमिका बारे गहन छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरका नगर प्रमुख वसन्त कुमार बस्नेतले प्रकृति र बन्यजन्तु संरक्षणमा नगरपालिका अघि बढिरहेको बताउँदै सामुदायिक बनले पर्यावरण संरक्षणमा ठूलो योगदान दिएको बताउनुभयो।
उप प्रमुख महेश्वरी राईले १३ वटा सिसि क्यामेराले त्रियुगा नगरका बन क्षेत्रमा रहेका धेरै बन्यजन्तुहरूलाई कैद गर्न छुटेको उल्लेख गर्दै वन संरक्षण सबै उपभोक्ताको सामूहिक जिम्मेवारी रहेको औंल्याउनुभयो।
त्रियुगा नगरपालिका वडा नम्बर ४, ५, र ६ मा रहेका वन क्षेत्रका बन्यजन्तुहरूको अनुगमनका लागि क्यामेरा ट्यापिङ गरिएको र यो प्रयास बन्यजन्तु संरक्षणमा महत्वपूर्ण रहेको सरस्वती सामुदायिक वनका अध्यक्ष दिपक बान्तवाले जानकारी दिनुभयो। साथै, बन्यजन्तु र मानव बीचको द्वन्द कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो।
कार्यक्रममा क्यामेरा ट्यापिङद्वारा कैद गरिएका चितुवा, काठे भालु, बँदेल, रातो बादर, लङुर, नीर बिरालो, रतुवा, मृग, न्याउरी मुसा, मयुर कालिज लगायतका बन्यजन्तुहरूका दृश्यहरू प्रदर्शन गरिएको थियो।
विचार गोष्ठीमा वन विभागका अधिकारीहरू, सामुदायिक बन उपभोक्ता महासङ्घका अध्यक्ष कुशलबाबु बस्नेत, वडा अध्यक्षहरू, सहयोगी संस्था कम्युनिटी कन्जरभेसन, एनसिएसीका प्रतिनिधिहरू, टोल विकासका प्रतिनिधिहरू, सामुदायिक बनका पदाधिकारीहरू, पत्रकार र स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले त्रियुगा नगरपालिकामा बन्यजन्तु संरक्षण र मानव बन्यजन्तु द्वन्दको व्यवस्थापनमा नयाँ आशा र योजना प्रस्तुत गरेको छ ।