कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा, म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ। हल्का बोल्न सक्ने अवस्थामा रहेका उनको अवस्था मध्यम रहेको बताइएको छ।मोटरसाइकलको पछाडि सवार सोही स्थानका १६ वर्षीय अनिल विकको टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घाइते चालक दिनेश र पछाडि सवार अनिललाई घटनास्थलबाट तत्काल उद्धार गरी मणिपाल शिक्षण अस्पताल पठाइएको थियो।दुर्घटनामा संलग्न मोटरसाइकल अस्थायी प्रहरी पोस्ट हेम्जाको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।