Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

पशुपतिमा आस्थाको अन्तिम सोमबार स् कसैले स्वास्थ्यको कामना गरे, कसैले देशको सुख–शान्तिको

  • उपहार न्यूज
  • सोमबार, साउन २५ २०८३
पशुपतिमा आस्थाको अन्तिम सोमबार स् कसैले स्वास्थ्यको कामना गरे, कसैले देशको सुख–शान्तिको

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो, आस्थासँगै सुख–शान्तिको कामना

आकांक्षा धामी, नेपाल न्यूज बैंक

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्दै आएका महिला तथा अन्य श्रद्धालुहरू आज विधिपूर्वक व्रत समापन गर्न पशुपति पुगेका छन् ।

साउन महिनाका अन्य सोमबार व्रत बस्न तथा पूजाआजा गर्न नपाए पनि अन्तिम सोमबार व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । भगवान् शिवको प्रिय बारका रूपमा मानिने सोमबार श्रद्धालुहरूले व्रत, पूजापाठ, दान तथा विभिन्न धार्मिक कार्य गर्ने परम्परा रहँदै आएको छ ।

अन्तिम सोमबार भक्तजनको संख्या बढी हुने भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा लामो लाइन लागेको थियो । श्रद्धालुहरू घण्टौँ लाइनमा बसेर भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआजा गर्न पुगेका थिए ।

आस्थाको यात्रा

पशुपतिनाथ दर्शनका लागि पुगेकी अस्मिता विश्वकर्माका लागि साउनको सोमबारको व्रत धार्मिक आस्था र पारिवारिक सुख–शान्तिसँग जोडिएको छ । आफूहरूले प्रत्येक वर्ष साउनको सोमबार व्रत बसेर पूजा आराधना गर्ने गरेको उनले बताइन् ।

उनले पशुपति क्षेत्रमा सेवा–सुविधा राम्रो भए पनि लामो लाइनका कारण मन्दिरभित्र भगवानको दर्शन पर्याप्त समय गर्न नपाएको गुनासो गरिन् । नेपाली परम्परा र हिन्दु संस्कारलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको भन्दै उनले परिवारमा सुख–शान्तिको कामनासहित पूजा गरेको बताइन् ।

उनले भनिन्,‘यो आस्था धर्मप्रति हो, भोलेनाथ वा शिवजी प्रतिको हो । प्रत्येक वर्ष साउनको सोमबार ब्रत बसेर पुजाआजा गर्ने गरेको छु । मन्दिरको व्यवस्थापन राम्रै छ । लाइन बसेर भित्र गयौं तर भगवानको दर्शन गर्न पाएनौं । लाइन लामो भयो, दर्शन धेरै छोटो भयो ।’

सुन्दरीजलबाट जल लिएर पशुपति पुगेकी अन्जु साहले पनि साउनको सोमबार व्रत बस्दा रोगव्याधि हट्ने धार्मिक विश्वास रहेको बताइन् । उनी अघिल्लो दिन नै सुन्दरीजल पुगेकी थिइन् । राति त्यहीँ बसेर बिहान स्नान गरी जल लिएर पशुपति आएकी उनले लाइनको व्यवस्थापन भने सहज रहेको बताइन् ।

उनले भनिन्,‘ब्रत बस्दा रोगहरु हट्छ भन्ने विश्वास छ । त्यसैले हिजै सुन्दरीजल गएको आज यहाँ आएका हौं । राति त्यही बास बस्यौं । सुन्दरीजलबाट जल लिएर आएको हौं । मन्दिरको व्यवस्थापन ठिकै लाग्यो, आधा घण्टा जति मात्र लाइनमा बस्यौं । भगवानसँग बिमारी चाँडै ठिक होस भनेको छु । फेरी दर्शन गर्न आउँछु, छोराछोरीलाई राम्रो होस् भनेर कामना गरेको छु ।’

भगवान् शिवसँग आफूलाई लागेको रोग निको होस्, आफू स्वस्थ रहन सकूँ र छोराछोरीको जीवन राम्रो होस् भन्ने प्रार्थना गरेको साहले बताइन् ।

भारतको अयोध्याबाट पशुपतिनाथ दर्शनका लागि आएका विद्याधर भारद्वाजका लागि भने यो यात्रा अझ विशेष थियो । भगवान् शिवलाई प्रसन्न पार्ने उद्देश्यले पशुपतिनाथ आएको बताउँदै उनले साउन महिनामा कैलाश मानसरोवर यात्रामा जाने तयारी रहेको जानकारी दिए ।

उनले भने, ‘भगवान शिवलाई प्रसन्न बनाउन बाबाको नगरीमा आएका छौँ । साउन महिनामै कैलाश मानसरोवर जाँदैछौँ । १३ दिने यात्रामा छौं । सोमबारका दिन भगवान भोलेनाथ अधिक प्रसन्न हुनुहुन्छ । अनि माताजीको पनि दिन भएकाले गौरीजी प्रसन्न हुनुहुन्छ भन्ने लाग्छ । जगतको कल्याण वा सबैको कल्याण गरुन भनेर बाबाको चरणमा आएका छौं ।’

उनका अनुसार कैलाश मानसरोवरको १३ दिने यात्राको शुभारम्भ पशुपतिनाथको दर्शनबाट गरिएको हो । सोमबार भगवान् शिवका लागि विशेष दिन भएकाले यस दिन पशुपतिनाथको दर्शन गर्न पाउनु आफूहरूका लागि सौभाग्य भएको उनले बताए । उनले भगवान् शिवसँग समस्त जगत् र सबैको कल्याणको प्रार्थना गरे ।

‘आस्था र विश्वासले नै धर्मलाई जीवन्त राख्छ’

पशुपतिनाथमा भेटिएकी मीना थापाले साउनको सोमबार व्रत बस्ने परम्परा धार्मिक आस्था, विश्वास र संस्कारसँग जोडिएको बताइन् । पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको तपस्यासँग जोडिएको धार्मिक कथनलाई आधार मान्दै आफूहरूले पनि परम्परादेखि यो व्रतलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

‘साउनको सोमबार शिवजीको ब्रत बस्नु भनेको सृष्टिमा पार्वतीले शिवजी पाऊँ भनेर स्वस्थानीमा पनि आउँछ । त्यसैले यो एउटा आस्था र विश्वास हो,’ उनले भनिन् ।

साउनको सोमबारको व्रत र आजको उद्यापनलाई धार्मिक परम्पराको निरन्तरताका रूपमा लिएको उनले बताइन् । अविवाहित युवतीले यस्तो व्रत बस्दा आफूले चाहेजस्तो योग्य वर प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको उनले उल्लेख गरिन् ।

थापाले पशुपतिमा लागेको भीडलाई आफूले धार्मिक आस्थाको प्रतीकका रूपमा लिएको बताइन् । भगवानसँग व्यक्तिगत मागभन्दा पनि देश र समाजका लागि सद्बुद्धि, सद्भाव, सद्विचार र सद्भावना प्राप्त होस् भन्ने आफ्नो प्रार्थना रहेको उनले सुनाइन् ।

उनले नेपाल राम्रो बनोस्, देशका नेताहरूमा सद्बुद्धि र सद्विचार आओस् तथा नयाँ पुस्ताका नेतृत्वकर्ताहरूले देशलाई सही दिशामा अघि बढाऊन् भन्ने कामना गरिन् ।

‘हामी सबै एउटै आमाका सन्तान हौँ’ भन्ने भाव व्यक्त गर्दै उनले सबै नेपालीबीच माया, सद्भाव र एकता कायम हुनुपर्नेमा जोड दिइन् । धर्मलाई बाहिरी प्रदर्शनभन्दा पनि आत्मशुद्धि, विश्वास र असल आचरणसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो ।

‘दुःख–कष्ट सहेर गरेको आस्थाको फल पाइन्छ’

बिहानैदेखि पशुपति पुगेकी शिला थापाले साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने गरेको बताइन् । आफूहरू भगवान् शिवकै सन्तान भएकाले शिवको आराधनाबाट परिवार तथा सम्पूर्ण नेपालीको सुख–शान्तिको कामना गर्ने गरेको उनले सुनाइन् ।

परिवारमा सुख–शान्ति कायम होस्, नेपाली जनताले दुःख–कष्ट भोग्न नपरोस् र सबैको जीवनमा राम्रो होस् भन्ने कामनाका साथ आफूले व्रत बस्ने गरेको थापाले बताइन् ।

उनका अनुसार धार्मिक आस्थामा विश्वास राखेर गरिने कर्मको फल अवश्य प्राप्त हुन्छ । दुःख–कष्ट सहेर गरिने धार्मिक कर्मले मानिसलाई आस्था र धैर्य दुवै प्रदान गर्ने उनको विश्वास छ ।

उमा श्रेष्ठका लागि भने साउनको सोमबारको व्रत चार दशक नजिक पुगेको व्यक्तिगत आस्था हो । विवाह हुनुअघिदेखि नै आफूले नियमित रूपमा सोमबारको व्रत बस्दै आएको उनले बताइन् ।

पशुपतिनाथ दर्शनका लागि बिहान ८ बजे पुगेकी श्रेष्ठले यसपटक लाइन व्यवस्थापन सहज रहेको बताइन् ।

परिवारको सुख–शान्ति, छोराछोरीको स्वास्थ्य र रोग–व्याधि हटोस् भन्ने कामनाका साथ आफूले व्रत बस्ने गरेको श्रेष्ठले बताइन् । लामो समयदेखि भगवानप्रति विश्वास राखेर आराधना र प्रार्थना गर्दै आएको र आफ्नो जीवनमा त्यसको सकारात्मक प्रभाव महसुस गरेको उनको भनाइ छ ।

यद्यपि यसपटक उनको सबैभन्दा ठूलो प्रार्थना भने बिरामी छोरीको शीघ्र स्वास्थ्यलाभका लागि छ । ‘भगवानको कृपाले छोरी छिट्टै निको होस्’ भन्ने कामनासहित उनले पशुपतिनाथमा पूजा आराधना गरेकी छन् ।

बोलबम तीर्थालुको पनि भीड

साउनको अन्तिम सोमबार पशुपतिनाथमा व्रतालु र सर्वसाधारण श्रद्धालुसँगै बोलबम तीर्थालुको पनि उल्लेख्य उपस्थिति देखिएको छ । देशका विभिन्न शिवालयमा बोलबम तीर्थालुको चहलपहल बढेको छ ।

काठमाडौंको सुन्दरीजलबाट जल लिएर आएका बोलबम तीर्थालुले उक्त जल पशुपतिनाथमा चढाएर पूजा आराधना गर्ने गरेका छन् । सुन्दरीजलमा स्नान गरी जल बोकेर पशुपतिनाथसम्म पुग्ने धार्मिक परम्पराका कारण बिहानैदेखि भक्तजनको आवागमन बढेको थियो ।

पशुपतिनाथमा देखिएको भीड धार्मिक अनुष्ठानको दृश्य मात्र नभौइ पुस्तौँदेखि चलिआएको आस्था, परम्परा र विश्वासको निरन्तरता पनि हो । कसैले पारिवारिक सुख–शान्ति मागेका छन्, कसैले स्वास्थ्यलाभको प्रार्थना गरेका छन् भने कसैले देश र समाजको कल्याणको कामना गरेका छन् ।

Last updated:2026 Aug 10 Monday 07:42:47

प्रतिक्रिया
सम्बन्धित समाचार