पोखरा । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सर्वसाधारणलाई गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परिवर्तन नेपाल अभियान पोखरा र इनोभा अस्पताल प्रा.लि., लाजिम्पाट काठमाडौंबीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार परिवर्तन नेपाल अभियानका सदस्य, कर्मचारी, अभियानबाट सिफारिस प्राप्त व्यक्ति तथा सम्बन्धित लाभग्राहीले इनोभा अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौताअन्तर्गत ओपीडी परामर्श सेवामा १५ देखि २० प्रतिशत, भर्ना तथा बेड शुल्कमा २० प्रतिशत, प्रयोगशाला परीक्षण तथा डायग्नोस्टिक सेवामा २५ प्रतिशत र रेडियोलोजीअन्तर्गत एक्स–रे, अल्ट्रासाउन्डलगायत सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ।
त्यस्तै, औषधिमा १० प्रतिशत तथा स्वास्थ्य परीक्षण प्याकेजमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
उक्त सहुलियत प्राप्त गर्न परिवर्तन नेपाल अभियानबाट जारी गरिएको सिफारिसपत्र तथा सम्बन्धित परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
समझदारीपत्र एक वर्षका लागि लागू हुनेछ भने दुवै पक्षको सहमतिमा यसको नवीकरण गर्न सकिने जनाइएको छ।
सम्झौतामा इनोभा अस्पताल प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवराज रेग्मी र परिवर्तन नेपाल अभियान पोखराका तर्फबाट अध्यक्ष सरस्वती पुरीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि परिवर्तन नेपाल अभियान पोखराले आर्थिक रूपमा कमजोर तथा सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरेको छ। अभियानले आगामी दिनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा यस्ता सहकार्यलाई निरन्तर विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।