काठमाडौं । ‘मिस नेपाल वल्र्ड २०२५’ लुना लुइँटेल ७३ औँ मिस वल्र्ड प्रतियोगितामा सहभागी हुन शनिबार भियतनाम प्रस्थान गर्ने भएकी छन् । फिनाले ५ सेप्टेम्बरमा त्यहाँको न्हा टूाङ सिटीमा हुनेछ । मिस वल्र्डको फिनालेका लागि लुनाले विभिन्न क्षेत्रका प्रशिक्षक र विशेषज्ञसँग प्रशिक्षण लिएको द हिडन टूेजरले जनाएको छ । तयारीका क्रममा उनले भारतको मुम्बईमा विशेष प्रशिक्षण कार्यक्रम पनि पूरा गरेकी छन् ।
मिस वल्र्डको मुख्य पक्ष मानिने ब्यूटी विथ पर्पस परियोजनाका लागि लुइटेलले गण्डकी प्रदेशको पर्वत जिल्लास्थित फलेवासलाई छनोट गरेकी छन् । उनको परियोजनाअन्तर्गत स्थानीय सीमान्तकृत महिलाका लागि दिगो आम्दानी सिर्जना गर्ने उद्देश्यले कारखाना भवन निर्माण गरी दुईवटा दुना(टपरी उत्पादन मेसिन जडान गरिएको छ ।
शिक्षा क्षेत्रमा विद्यालयका लागि फर्निचर र स्मार्ट बोर्डसहित पुस्तकालय भवन निर्माण गरिएको छ भने सरसफाइ र स्वच्छताका लागि विद्यालयको शौचालय पनि मर्मत गरिएको छ । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न एनसेल फाउन्डेसनको सहकार्यमा गाउँस्थित धुलिखेल अस्पतालको स्थानीय शाखामा टेलिमेडिसिन उपकरण जडान गरिएको छ । यस सेवामार्फत स्थानीय तथा आसपासका बासिन्दाले काठमाडौंमा रहेका विशेषज्ञ चिकित्सकबाट तत्काल स्वास्थ्य परामर्श लिन सक्ने व्यवस्था गरिएको द हिडन टूेजरले जनाएको छ ।