उदयपुर । पर्याप्त वर्षा नहुँदा उदयपुरमा पनि सिंचाई अभावको प्रभाव देखिएको छ । चाहिदो वर्षा नभएका कारण यसवर्ष अहिलेसम्म धान रोपाँई सकिएको छैन । असारभित्रै रोपाँई सनुपर्नेकम सिँचाई सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्ने किसानका लागि रोपाई गर्न नसक्ने अवस्था सृजना भएको हो । असार लाग्दै केहीदिन वर्षा भएर रोपाँई गर्न थाले पनि एक्कासी वर्षा रोकिएपछि रोपाँई पनि रोकिएपछि किसान चिन्चित बन्न पुगेका छन् । साउन तेस्रो सातासम्म जिल्लामा ८५ प्रतिशत हाराहारी खेतमा रोपाँई सकिएको छ भने बाँकी खेत अझै बाँझै रहेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।
ज्ञानकेन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार साउन २० गतेसम्म ८५ प्रतिशत हाराहारी खेतमा मात्र रोपाँई सम्पन्न भएको छ । पहाडी भूभागको खेतमा रोपाँई लगभग सकिईसकेको छ तर, भित्री मधेस र तराईभेगको १ तिहाई बढी खेतमा रोपाँई गर्न बाँकी रहेको यादवले बताए । पहाडी भेगमा सिँचाई सुविधा पुगेकाले धान रोप्ने काम सकिएको हो । सिँचाई कुलो सुविधा पुगेको खेतमा रोपाँई गरिसकिएको भए पनि तराई र भित्रीमधेसको खेतमा आकाशे पानीको सिँचाई गर्नुपर्ने भएकाले वर्षा नहुँदा रोपाँई गर्न रोकिने यादवले बताए ।
वर्षा सामान्य रुपमा भईरहेको भए पनि खेतवारी भिज्ने र रोपाँई गर्नेगरि पर्याप्त नभएकाले किसान चिन्तित हुनु परेको छ । समयमा वर्षा नभएकाले रोपाँई गर्न नपाउँदा व्याड हुर्केर काम नलाग्ने अवस्था भईसक्न लागेको किसानहरु बताउँछन् । साउनेको पहिलो साताभित्रै रोपाँई सक्ने इरादा राखेका गाईघाटका किसान गोपाल चौधरीलाई यस्तै कुराले चिन्तित बनाएको छ ।
‘साउन लाग्दै रोपाँई गर्नेगरि व्याड राखेको थिएँ, सबै हुर्किसकेको छ, अव त कामै नलाग्लाजस्तो भईसक्यो’ चौधरीको चिन्ता छ ‘व्याड हुर्केर घुँडा नाघिसक्यो, अहिलेसम्म पानी परेन, के गरि रोपाँई गर्नु ?’ एक विगाह जमिनमा धान खेती गर्दै आएका चौधरीलाई अहिलेसम्म रोपाँई सुरु गर्नै नपाएपछि आघुँ भोकमरी लाग्ने चिन्ताले सताउन थालेको छ । ‘पोहोर परार यतिखेरसम्म धान गोड्ने बेला भईसक्थ्यो, यसवर्ष रोपाँई नै गर्न पाको छैन, आउदो बर्खा भोकै परिने डर छ’ चौधरी भन्छन् ।
कतिपय किसानले भने अघिल्लो वर्षाकै मौका छोपेर रोपाँई गरिसकेका छन् । पहिलो छिमलको रोपाँई सकेका किसानको रोपो सरेर गोड्ने बेला हुन लागिसकेको छ भने त्यो मौका गुमाउने किसानलाई रोपाँई गर्नै पाउने कि नपाउने चिन्ताले सताउन थालेको छ । समयमा पानी परेको भए यत्तिखेरसम्म रोपाँई भईसक्नेमा पर्याप्त वर्षा नभएकै कारण रोप्न बाँकी रहेको किसान बताउँछन् । मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रिईसकेको जानकारी दिएकाले पानी पर्छ भन्ने आसमा रहेका किसानहरु वर्षा नहुँदा झुक्किनु परेको छ । ‘१ डेढघण्टा मात्र लगातार पानी परिदियो भने सबै रोपाँई सकिन्थ्यो तर, पानी नै परेन’ बेलका ९ का किसान कृष्ण दुलालको चिन्ता छ ‘व्याड हुर्किसक्यो, मौसमले छाडिसक्यो, पानी नपर्दा रोपाँई गर्न पाइएन ।’ ३ बिगाह खेतमा धान फलाउँदै आएका दुलालले आधाजसो रोपाँई गर्नै बाँकी रहेको सुनाए ।
पहाडी भेगतर्फ रौतामाई, लिमचुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकाको टार, बेँसीका खेतबारी रोपो सरेर हरियै भईसकेको छ । तर, सदरमुकाम गाईघाटसमेत समेमटिएका त्रियुगा नगरपालिका, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका समथर भूभागका खेतमा झण्डै आधाजसो रोपाँई गर्न बाँकी छ । रोपाँई गर्न बाँकी जमिन सबै आकाशे पानीको भरमा धान फलाउने खेत हो ।
वर्षा नहुँदा केही किसानले डिपबोरिङ गरेर पनि रोपाँई गर्दैछन् भने त्यो क्षमता नभएका किसानहरु आकाशे पानीकै आसमा बसिरहेका छन् । तर, डिपबोरिङ गर्नेहरुका लागि पनि विद्युत बेलाबेला अवरुद्ध हुँदा खेत हिल्याउन घण्टौँ लाग्ने समस्यामा छन् । एक बिगाह खेत रोपाँई गर्नका लागि हिल्याउन कम्तीमा ६ देखि १० घण्टासम्म मोटर चलाउनुपर्ने उनीहरुको भनाई छ । त्यसमा पनि बीचबीचमा बत्ती जाने समस्याले पानी जम्दाजम्दै सुक्ने समस्याले दिक्क लगाउने गरेको किसानको गुनासो छ ।
उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर जमिनमा धान बाली लगाउने गरिएको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ । जसमध्ये साउन १३ गतेसम्म १० हजार ७ सय ४ हेक्टर जमिनमा रोपाँई भईसकेको छ । चाहिदो वर्षा भएमा ५ देखि ७ दिनभित्र सबै खेतमा रोपाँई भईसक्ने ज्ञान केन्द्र प्रमुख यादव बताउँछन् ।