उदयपुर, प्रसंग यस्तो थियो । गाईघाटको त्रियुगा माविका शिक्षक श्याममल्ल ठकुरीको केही वर्षअघि गम्भीर रोगका कारण निधन भयो । लगतै छोराको पनि निधन भयो । लगातार एकपछि अर्को बुढेसकालको साहरा श्रीमान् र छोरा गुमाएकी बिन्दा थापा मल्ललाई पनि एक्कासी क्यान्सर रोग देखियो । क्यान्सरसँगै सुगर, थाईराईड र मधुमेहसमेतका बिरामी एकल महिला त्यसमाथि उमेरले डाँडा काँटीसकेको अवस्थाकी बिन्दालाई फेरि अर्को आपत आईलाग्यो ।
लडेर खुट्टा समेत कुजिएको अवस्थामा अहिले ओछ्यानमै थलिनुभएको करिब डेढ वर्ष बित्यो । बुढेसकालको लाठी छोरा र साहरा श्रीमान् गुमाउनुको पीडात छदैछ एक्लै भएपनि सामान्य खाना पकाईखान सक्ने अवस्था समेत नरहेपनि अहिले उहाँको अवस्था थप जटिल बन्दै गरेको छ । जटिल र धेरै प्रकारका रोगको औषधी किन्न धेरै पैसा चाहिन्छ तर, उहाँसँग पर्याप्त छैन ।
यही कुरा बिरामी बिन्दाका श्रीमान अर्थात ‘सबैका प्रिय’ श्याम सरकै विद्यार्थी कुमार मोतेको कानसम्म पुग्यो । आफ्नो स्वर्गीय गुरुको धर्मपत्नीलाई परेको पीडा महसुस गर्दै उनै कुमारको नेतृत्वमा गुरुआमा बचाउ अभियान संचालन भयो । नभन्दै अहिले करिब ५० हजार संकलन भयो ।
श्याम सरलाई नजिकबाट चिन्ने सबै विद्यार्थी समूह र शुभचिन्तकबाट संकलन भएको सो रकम र ह्वीलचियर लगायतको सामान हस्तान्तरण गर्न पुगेको चेलाहरुलाई देखेर बृद्धाअवस्थाकी बिन्दा निकै भावुक हुनुभयो । परिवारमा सबैलाई उपचार गराउदा गराउदै आर्थिक अवस्था ज्यादै खस्कीएको बिन्दालाई केही दिन औषधी खाने जोहो भएको छ । उहाँको उपचार र दैनिकी सहजताका लागि अन्य मनकारी सहयोगदाताहरुसँग पनि सहयोग अपेक्षा गर्नुभएको छ ।