ललितपुर — ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित फ्लाइओभर क्षेत्रमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस अनियन्त्रित भई फ्लाइओभरको भित्तामा ठोक्किएपछि पल्टिएको थियो। दुर्घटनाका बेला बसमा करिब ३० जना यात्रु सवार रहेका थिए।
दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते १८ जनाको तत्काल उद्धार गरी ललितपुरस्थित बी एण्ड बी अस्पताल र ग्लोबल अस्पतालमा उपचारका लागि पठाइएको छ। अस्पतालका अनुसार सबै घाइतेको उपचार जारी रहेको छ।
दुर्घटनामा संलग्न बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भएपछि फ्लाइओभरको संरचनामा ठोक्किएर पल्टिएको हो। प्रहरीले दुर्घटनाको विस्तृत कारण खुलाउन थप अनुसन्धान अघि बढाएको छ।