धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
कोशी लोकमार्ग हुँदै विराटनगरतर्फ जाँदै गरेको ना।३ ख ५०९५ नम्बरको ट्रकलाई बिहीबार बिहान करिब ५स्३० बजे नियमित चेकजाँचका क्रममा रोकिएको थियो। जाँचका क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरेर लुकाइ राखिएको ४८ वटा पोकामा रहेको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजाको तौल गर्दा कुल ६४७ किलोग्राम रहेको पुष्टि भएको छ। घटनासँग सम्बन्धित आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।