उदयपुर, साउन १९
आधुनिक र व्यवसायिक कुखुरा पालनको लोभ देखाएर एक समूले उदयपुरका किसान ठगेको आरोप लागेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ ठेगाना भएको मनकामना अग्रीकल्चर डेभलपमेन्ट नामक कम्पनीको नाममा आएका ४ जना युवतिहरुको समूहले कुखुरा पालनको नाममा ठगेको बताइएको छ ।
युवतिको टोलीले चौदण्डीडढी नगरपालिका ५ र ६ नं. का सयौँ किसानलाई ठगेको हो । उन्नत जातको कुखुरा र आधुनिक खोर सहयोग पाउने प्रलोभनमा उनीहरु ठगिएको पीडितहरुल्े बताएका छन् । पीडितहरुका अनुसार असार २ गते निजी नम्बर प्लेटको पिकअप भ्यानमा कुखुराको चल्ला लिएर गाउँ आएको ४ युवतिको टोलीले सर्वसाधारणलाई ५ सय रुपैँया लिएर २० वटाका दरले कुखुराको चल्ला दिएको थियो ।
जम्मा ६ हजार रुपैँयामा २० वटा चल्ला दिँदै कुखुरा पाल्ने अत्याधुनिक खोर उपलब्ध गराउने भनेपछि कृषकहरु लोभिएर ठगिमा परेका हुन् । ठगिनेमा सचेत तप्कामा पर्ने शिक्षकदेखि लामो समयदेखि व्यवसायिक कुखुरा पालन गर्दै आएका सर्वसाधारण किसानसमेत परेका छन् ।
स्थानीय एक विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीका अनुसार आमाले ६ हजार पैसा चाहियो भन्दै मागेपछि टोलीसँग कुरा गरेर पैसा क्युआर गरिदिएको बताए । शिक्षक चौधरीका अनुसार सुरुमा ५ सय रुपैँया अग्रिम लिएर ५ हजार ५ सय बाँकी राखेको रसिद दिएको टोलीले तत्काल २० वटा ब्रोईलर चल्ला किसानलाई दिएका थिए । त्यसको २(३ दिनपछि फेरि आएरसातादिनभित्र आधुनिक खोर ल्याईदिने भन्दै बाँकी ५ हजार ५ सय रुपैँया पनि लिए । टोलीमा संलग्न १८(२५ वर्ष उमेर समूहका ४ युवतिहरु सबै पश्चिमी शैलीको नेपाली भाषा प्रष्ट बोल्ने बाहुनक्षेत्री (खस आर्य) समुदायका रहेको शिक्षक चौधरीले बताएका छन्
पीडितमध्येका एक प्रविण चौधरीका अनुसार किसानलाई दिइएको रसिदमा ‘मनकामना एग्रीकल्चर डेभलपमेन्ट,वीरेन्द्रनगर १२ सुर्खेत’ लेखिएको छ । निजी नम्बर प्लेटको प्रदेश २(०३(००१(५६७४ नं. को पिकअप भ्यानमा आएका उनीहरुले गाडीको पछाडि डालाभरि चल्ला पनि सँगै ल्याएर बाँड्ने गर्थे । किसानबाट क्युआरमा भुक्तानी लिनेमध्ये एक युवतिको इसेवा आईडी दिलाशा पाण्डे रहेको उनीहरुले बताएका छन् ।
अर्की पीडित कलावती चौधरीले गाउँका सबै किसान सल्लाह गरेरै कुखुरा लिने सहमति गरेको तर ठगीमा परेको कुरा बल्ल थाहा पाएको बताईन् ।