काठमाडौं, साउन १९ – लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशभरका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले साउन १९ गते बिहान ४:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै देशभरका १३ वटा मुख्य राजमार्ग प्रभावित भएको जनाएको हो।
प्रहरीका अनुसार ८ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ३ सडकखण्ड एकतर्फी सञ्चालनमा रहेका छन् भने २ सडकखण्डमा सम्भावित जोखिमका कारण रातिको समयमा सवारी आवागमन रोकिएको छ।
कोशी प्रदेश अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–१० राजदुवालीस्थित झापा–ताप्लेजुङ सडकखण्डअन्तर्गत पर्ने मेची राजमार्ग भने अविरल वर्षापछि आएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकको वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित भएका छन्। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कुटुन्जेबेँसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडक (कान्तिलोकपथ) मा पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो तथा वडा नं. २ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किन्तारस्थित लामाबगर–खिम्ती सडकखण्ड र रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा बन्द छन्।
गण्डकी प्रदेशअन्तर्गत बागलुङ नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडक र मनाङको नासोँ गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा पहिरो खसेपछि एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
यस्तै, लुम्बिनी प्रदेशको रुकुम पूर्वस्थित भूमे गाउँपालिका–३ काँडाबजारमा रहेको मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिका–१४ रिठेगाउँ खोलामा आएको बाढीले भेरी करिडोर (जाजरकोट–डोल्पा सडकखण्ड) समेत पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
उपत्यकामा पनि वर्षाले प्रभाव पारेको छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ र काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलोखोलास्थित सितापाइला–धार्के सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले प्रभावित सडकमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न, आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न तथा वर्षाका कारण जोखिमयुक्त क्षेत्रको यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै मौसममा सुधार नआएसम्म प्रभावित सडक खुलाउन सम्बन्धित निकायले निरन्तर प्रयास गरिरहेको प्रहरीले जनाएको छ।