विराटनगर, साउन १५ — सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले सामाजिक सञ्जालमा पुराना फोटो तथा भिडियो राखेर भ्रम, अफवाह र उत्तेजना फैलाउने कार्य नगर्न सबैमा आग्रह गरेको छ।
प्रतिष्ठानका प्रेस रजिष्ट्रार लिलाराज भट्टराईका अनुसार पछिल्लो समय यसअघि भएका आन्दोलनका पुराना फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पुनः सार्वजनिक गरी गलत सन्देश प्रवाह गर्ने र अफवाह फैलाउने प्रयास भइरहेको पाइएको छ। यस्ता गतिविधिले सामाजिक सद्भाव तथा शान्ति व्यवस्थामा नकारात्मक असर पार्न सक्ने भएकाले जिम्मेवार व्यवहार अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो।
प्रतिष्ठानले आधिकारिक स्रोतबाट पुष्टि भएका सत्य र तथ्यमा आधारित जानकारी मात्र सामाजिक सञ्जालमा प्रकाशन तथा सेयर गर्न अनुरोध गरेको छ। अपुष्ट, भ्रामक वा उत्तेजना फैलाउने सामग्रीको प्रसारण तथा साझेदारी नगर्न सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत रहन आग्रह गरिएको छ।
साथै, सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारण सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा प्रतिष्ठानले जोड दिएको छ।