Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

सेती केराको रेसाबाट सम्भावनाको नयाँ कथा लेख्दै टंक बहादुर मगर

  • उपहार न्यूज
  • बुधबार, साउन १३ २०८३
सेती केराको रेसाबाट सम्भावनाको नयाँ कथा लेख्दै टंक बहादुर मगर

विश्वराज तामाङ
उदयपुर श्रावण १२
कहिलेकाहीँ एउटा व्यक्तिको निर्णयले केवल उसको जीवन मात्र होइन, एउटा समाजको सोच नै परिवर्तन गर्न सक्छ । उदयपुरगढी गाउँपालिका(८ का टंक बहादुर मगर त्यस्तै पात्र हुन्, जसले विदेशको आकर्षक रोजगारी छाडेर आफ्नै गाउँको माटो रोजे । आज उनी खेतबारीमा पसिना बगाउँदै उदयपुरमै पहिलोपटक सेती केराको रेसा उत्पादन गरेर नयाँ सम्भावनाको ढोका खोलिरहेका छन् ।
करिब १५ वर्ष विदेशमा बिताएका टंक मगरले जीवनको लामो समय परदेशमा श्रम गरेर बिताए । विदेशमा हुँदा उनी सेती केराको रेसाबाट विभिन्न सामग्री उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए । त्यहाँ उनले केवल मजदुरी मात्र गरेनन्, एउटा नयाँ सीप सिके, नयाँ सम्भावना देखे र मनमनै एउटा सपना पनि बुने(‘एक दिन यही सीप आफ्नै गाउँमा प्रयोग गर्ने।’
डेढ वर्षअघि स्वदेश फर्किँदा धेरैले उनलाई सोधे, “अब फेरि विदेश जाने होला ? तर उनको उत्तर फरक थियो । उनले भने, “विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गर्न सके त्यसको मूल्य अझ ठूलो हुन्छ ।
यही सोचका साथ उनले आफ्नो गाउँमा सेती केराको व्यावसायिक खेती सुरु गरे । सुरुका दिन सजिला थिएनन् । गाउँका धेरै मानिसलाई सेती केराको रेसा के हो भन्ने समेत जानकारी थिएन । सामान्यतया केरा भनेपछि फल मात्रै सम्झिने समाजमा केराको बोटबाट समेत मूल्यवान रेसा निकाल्न सकिन्छ भन्ने कुरा धेरैका लागि नयाँ विषय थियो ।
तर टंक मगरले हार मानेनन् । उनले विदेशमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न थाले । सेती केराको बोटबाट निकालिएको रेसालाई सफा गर्ने, प्रशोधन गर्ने र बजारसम्म पु¥याउने काममा उनी आफैं जुटे । केही समयमै उनको उत्पादनले बजार पाउन थाल्यो । आज उनी रेसा बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
टंक मगरको कृषि यात्रा केवल सेती केरामा सीमित छैन । उनले आफ्नो खेतलाई बहुआयामिक कृषि प्रणालीमा रूपान्तरण गरेका छन् । सेती केरासँगै विभिन्न फलफूल, मौसमी तरकारी तथा पशुपालनलाई पनि समानान्तर रूपमा अघि बढाएका छन् ।
उनको बुझाइमा एउटा मात्र बालीमा निर्भर हुनु जोखिमपूर्ण हुन्छ । त्यसैले वर्षभरि आम्दानी हुने गरी विभिन्न कृषि गतिविधिलाई एकैसाथ अघि बढाएका छन् । यसले परिवारको आर्थिक अवस्था बलियो बनाएको मात्र छैन, कृषिलाई स्थायी व्यवसायका रूपमा स्थापित गर्न पनि सहयोग पुगेको छ ।
उनको मेहनत र नवीन सोचले स्थानीय सरकारको पनि ध्यान तान्यो । उदयपुरगढी गाउँपालिका र साहास नेपालले उनको प्रयासलाई प्रोत्साहन गर्दै केराको रेसा उत्पादन गर्ने मेसिन उपलब्ध गराए ।
यस मेसिनले उत्पादन क्षमता बढाउनुका साथै श्रम र समयको बचत गर्न महत्वपूर्ण भूमिका खेलेको छ । टंक मगरका अनुसार, आवश्यक प्रविधि र निरन्तर प्राविधिक सहयोग उपलब्ध भए सेती केराको खेती उदयपुरका धेरै किसानका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।
टंक मगरको सफलताको अर्को आधार हो(आर्थिक अनुशासन । कृषिबाट प्राप्त आम्दानीमध्ये २५ प्रतिशत रकम उनी जीवन बिमामार्फत बचत गर्छन् । बाँकी रकम परिवारको आवश्यकता पूरा गर्न र कृषि व्यवसाय विस्तार गर्न लगानी गर्ने गरेका छन् । उनको भनाइ छ, “कमाउनु मात्र ठूलो कुरा होइन, भविष्यका लागि बचत गर्नु पनि उत्तिकै आवश्यक छ । किसानले पनि आर्थिक योजना बनाउनुपर्छ ।
टंक मगरको सपना अहिलेको सफलतामा सीमित छैन । उनको लक्ष्य अझ ठूलो छ । यदि सेती केराको उत्पादन पर्याप्त मात्रामा बढाउन सकियो भने गाउँमै नेपाली हस्तनिर्मित कागज उत्पादन उद्योग स्थापना गर्ने योजना उनले बनाएका छन् । केराको रेसाबाट वातावरणमैत्री कागज उत्पादन गर्न सकिने भएकाले यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आयातित कच्चा पदार्थको विकल्प पनि दिन सक्ने उनको विश्वास छ ।
तर यो सपना पूरा गर्न उनीसँग पर्याप्त लगानी, आधुनिक प्रविधि र प्राविधिक सहयोगको अभाव छ । सम्बन्धित निकाय र निजी क्षेत्रले साथ दिए उदयपुरमै नयाँ कृषि उद्योग स्थापना हुने सम्भावना रहेको उनी बताउँछन् ।
पछिल्लो समय रोजगारीको खोजीमा हजारौँ नेपाली युवा विदेशिइरहेका बेला टंक मगरको कथा फरक छ । उनले विदेशमा सिकेको सीपलाई आफ्नै गाउँको माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने बाटो रोजेका हुन् । उनी आज केवल सफल कृषक मात्र होइनन्, सीप, मेहनत र आत्मविश्वास भए आफ्नै देशमा पनि सम्मानजनक जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिने प्रेरणादायी पात्र बनेका छन् ।
डेढ वर्षको छोटो अवधिमै टंक मगरले आफूलाई उदाहरणीय कृषकका रूपमा स्थापित गर्न सफल भएका छन् । उनको कामले स्थानीय युवामा कृषिप्रति नयाँ आशा जगाएको छ । यदि यस्ता उद्यमी किसानलाई आवश्यक नीति, प्रविधि, बजार र लगानीको पहुँच सुनिश्चित गर्न सकियो भने उदयपुर मात्र होइन, देशका अन्य जिल्लामा पनि सेती केराको खेती र रेसा उत्पादन नयाँ आर्थिक सम्भावनाको आधार बन्न सक्छ ।विदेशमा सिकेको सीपलाई स्वदेशको माटोसँग जोडेर सम्भावनाको नयाँ इतिहास लेखिरहेका टंक बहादुर मगर वास्तवमै आधुनिक नेपालको कृषि उद्यमशीलताको एक प्रेरणादायी अनुहार हुन् ।

Last updated:2026 Jul 29 Wednesday 10:04:08

प्रतिक्रिया
सम्बन्धित समाचार