उदयपुर — झण्डीडाडा सामुदायिक वन, त्रियुगा नगरपालिका–१६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन विज्ञान विषयमा स्नातक तह अध्ययनरत दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।डिभिजन वन कार्यालय उदयपुर र सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरको संयुक्त पहल, समन्वय तथा सहजीकरणमा विगत केही वर्षदेखि वितरण हुँदै आएको उक्त छात्रवृत्ति अन्तर्गत यस वर्ष एक छात्र र एक छात्रालाई जनही ३४ हजार ५ सयको दरले प्रदान गरिएको हो।
यस वर्ष छात्रवृत्ति पाउनेमा त्रियुगा नगरपालिका–१४ घर भई हाल वन विज्ञान अध्ययन संस्थान, हेटौडामा स्नातक तहमा अध्ययनरत छात्र विनय कुमार मन्सापुरिया र त्रियुगा नगरपालिका–१२ घर भई प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारीमा अध्ययनरत छात्रा अभिप्सा बस्नेत रहेका छन्।
स्थानीय विद्यार्थीहरूलाई वन विज्ञान विषयतर्फ आकर्षित गर्दै अध्ययनमा थप उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले सामुदायिक वनमार्फत यस्तो व्यवस्था मिलाइएको सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले जानकारी दिनुभयो।
छात्रवृत्ति वितरण कार्यक्रममा डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत जागेश्वर साहको समेत उपस्थिति रहेको थियो।