०६ वैशाख उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार स्थित सितापाइला टोलमा आइतबार साँझ छिमेकीबीच भएको विवादले दुःखद रूप लिँदा एक जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार स्थानीय अन्दाजी ७३ वर्षीय रामप्रसाद राईले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय महाप्रसाद राईको मृत्यु भएको हो।
चौदण्डीगढी नगरपालिका ७ बिपि चोक देखी बिरेन्द्रबजार जाने सडक खण्ड अन्तर्गत बेलबोट होटल नजिक रहेका दुई छिमेकी बीच भएको आपसी विवादपछि रामप्रसादले छुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
रामप्रसाद राईले प्रहार गरेको छुरी महाप्रसाद राईको छातीको दाहिने भागको माथी लाग्दा गम्भीर चोट र उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक प्रभात लक्षम लिम्बुले जानकारी दिनु भयो।
घटनापछि आरोपी रामप्रसाद राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्थानीयस्तरमा सामान्य विवादले यति गम्भीर रूप लिँदा बेल्टार क्षेत्रका बासिन्दामा त्रास र चिन्ता फैलिएको छ। प्रहरीले सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
नोट ः तस्बीर एआईद्धारा सिर्जित गरिएको हो