Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर वन कार्यालयमा नयाँ अभ्यास ः कार्यालय प्रमुखले सुरु गरे गेटमै बसेर सेवा

  • उपहार न्यूज
  • आइतबार, चैत्र ८ २०८२
उदयपुर वन कार्यालयमा नयाँ अभ्यास ः कार्यालय प्रमुखले सुरु गरे गेटमै बसेर सेवा

विश्वराज तामाङ
उदयपुर, चैत ७
डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्रकुमार श्रेष्ठ शुक्रबार बिहान कार्यालयको मुख्य गेटमै कुर्सी र बेन्च राखेर बसेको दृश्यले सेवाग्राहीहरूलाई अचम्मित बनायो । आवश्यक कागजात र ल्यापटपसहित मुस्कानका साथ गेटमै बसेका प्रमुख श्रेष्ठले त्यहीँबाट सेवा लिन आएका नागरिकलाई सहजीकरण गरिरहेका थिए ।
सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न सरकारी कार्यालयहरूले नयाँ–नयाँ अभ्यास अपनाइरहेका बेला वन प्रमुख श्रेष्ठको यो पहल फरक र उदाहरणीय देखिएको छ। गेटमै बसेर सेवा दिइरहेको देखेपछि धेरै सेवाग्राही आश्चर्यचकित मात्र नभई खुसी समेत देखिन्थे ।
वन कार्यालय प्रमुख श्रेष्ठले अब देखि साताको प्रत्येक शुक्रबार यसरीनै सेवा दिन सुरु गर्ने कार्यको थालनी गरेको समेत बताउनु भयो ।
सरकारी कार्यालयमा सेवाग्राहीहरूले प्रमुखसँग सिधा सम्पर्क गर्न नसक्ने र आफ्ना समस्या खुलेर राख्न हिचकिचाउने प्रवृत्तिलाई अन्त्य गर्न यो अभ्यास सुरु गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालय प्रमुख र सेवाग्राहीबीच प्रत्यक्ष संवादको अभावले धेरै नागरिकले अनावश्यक सास्ती खेप्नु परेको अवस्था छ ।
यही समस्यालाई मध्यनजर गर्दै प्रत्येक शुक्रबार गेटमै बसेर सेवा दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। विशेषगरी टाढा–टाढाबाट आउने सामुदायिक वन उपभोक्ताहरूलाई सहज सेवा उपलब्ध गराउनुका साथै उनीहरूको समस्या नजिकबाट बुझ्न यो अभ्यास उपयोगी हुने विश्वास गरिएको छ।
“यो कुनै स्टन्ट होइन,” प्रमुख श्रेष्ठले भन्नुभयो, “सेवाग्राही र कार्यालय प्रमुखबीचको दूरी घटाउँदै सहज पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको एउटा नयाँ थालनी हो।”
कार्यालय प्रमुखले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने यो प्रयासलाई कर्मचारी र सेवाग्राही दुवैले प्रशंसनीय कदमका रूपमा लिएका छन्।

Last updated:2026 Mar 22 Sunday 04:29:39

प्रतिक्रिया
सम्बन्धित समाचार