उपहार न्यूज
उदयपुर मंसीर २०
उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–३, बराहस्थित श्री एल.बी. कार्की स्मृति लिम्चुङबुङ अस्पताल परिसरमा शुक्रबार नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ।
श्री पशुपति प्रसाद गण र लिम्चुङबुङ गाउँपालिकाको संयुक्त समन्वय तथा सहकार्यमा सम्पन्न गरिएको शिविरमा श्री सैनिक अस्पताल ईटहरी, श्री नं.१८ फिए गुल्म भुल्के, जिल्ला अस्पताल उदयपुर, तथा लिम्चुङबुङ–३ बराहको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता थियो।
उद्घाटन तथा निरीक्षण कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय वडाका जनप्रतिनिधिहरू सहितको उपस्थिति रहेको थियो । शुक्रबार विहान ९ बजे देखि साडे ४ बजे सम्म संचालित शिविरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, कान–नाका–घाँटी, आँखा जाँच सेवा, प्रजनन तथा जनस्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
शिविरमा १५१ महिला र १०१ पुरुष सहित २५२ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । स्थानीय समुदायले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउने यस प्रकारका पहलका लागि नेपाली सेना तथा गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।