विश्वराज तामाङ
उदयपुर श्रावण १३
उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ गाईखुरका किसानहरु पछिल्लो एक बर्ष यता अकबरे खुर्सानी खेती तर्फ उत्साहित भएका छन् । अघिल्लो बर्ष गाउँपालिकाको कृषि र लघु उद्यम शाखाले अकबरे खुर्सानी उत्पादनको तालिम तथा निःशुल्क बिरुवा दिए पछि कृषकहरुले व्यवसायीकरुपमा अकबरे खुर्सानीको खेती गर्न सुरु गरेका थिए ।
गाउँपालिकाले गाईखुरका १८ जना कृषकहरुलाई तालिम प्रदान गरेकोमा १६ जना कृषकहरुले व्यवसायीकरुपमा अकबरे खुर्सानीको खेती गरेका थिए । १६ घरका किसानलाई गाउँपालिकाले १९ हजार बोट अकबरे खुर्सानीको बिरुवा भोजपुर, इलाम लगायतका स्थानबाट ल्याएर वितरण गरेको थियो ।
अघिल्लो बर्ष मात्रै गाईखुरका कृषकहरुले २० क्विन्टल बढि अकबरे खोर्सानी उत्पादन गरेर सदरमुकाम गाईघाट लगायतका बजारहरुमा विक्रि गरेको गाईखुर कृषक समुहका अध्यक्ष महासेर राईले बताउनु भयो । प्रति किलो १५० देखि ३५० रुपैया सम्म विक्रि गरेका उनीहरुले करिब १० लाख रुपैयाको अकबरे खुर्सानी निर्यात गरेका थिए । विगत बर्षहरुमा मकै, कोदो लगायतका बाली लगाउने किसानहरु अकबरे खुर्सानीको उत्पादन र त्यसको प्रतिफल बाट थप उत्साहित हुदै यस बर्ष १६ घरबाट बढेर गाईखुरमा मात्रै ४० घर किसानहरुले अकबरे खुर्सानीको खेती गरेको गाईखुर लघु उद्यम समुहका अध्यक्ष मान बहादुर राईले बताउनु भयो ।
कोदो मकै भन्दा अकबरेबाट आर्थिक लाभ उठाउन सकिएको देखे पछि गाईखुरका किसानहरुले अकबरे खुर्सानी उत्पादन तर्फ आकर्षित भएका हुन् । यस बर्ष मात्रै गाईखुरमा किसानहरुले एक लाख ७७ हजार बोट अकबरे खुर्सानीको खेती गरेका छन् ।
अब श्रावण अन्तिम साताबाट अकबरे खुर्सानी फल्न सुरु हुने छ प्रति बोट एक देखि तीन किलो सम्म उत्पादन हुने अकबरे किसानहरुले सदरमुकाम गाईघाट आसपासका जिल्ला र राजधानी काठमाण्डौ सम्म निर्यात गर्ने लक्ष्य रहेको स्थानिय किसान अमृत राईले बताउनु भयो ।
एक लाख ७७ हजार बोटमा प्रति बोट एक देखी तीन किलो सम्म अकबरे उत्पादन हुदा ठूलो परिमाणमा अकबरे उत्पादन हुने भएकाले यस बर्ष गाईखुरका ४० घर किसानले दुई करोड मुल्य बराबरको अकबरे निर्यातको तयारी रहेको गाईखुर कृषक समुहका अध्यक्ष महासेर राई बताउनु हुन्छ ।
गाईखुरका किसानहरुले अघिल्लो बर्ष अकबरे बाट राम्रो आम्दानी गरे संगै गाउँपालिकालाई ८ हजार ४ सय ५० बोट बिरुवा समेत विक्रि गरेका छन् । यता वडा नम्बर १ गाईखुरमा अकबरे खेती सफल भए पछि गाउँपालिकाको वडा नम्बर २ ताप्लीछा र वडा नम्बर ३ बलम्तामा पनि किसानहरु उत्साहित भएका छन् । ताम्लीछामा युवा अगुवा कृषक हरी भट्टराईले एक हजार बोट, दिलिप राईले ५ सय बोट, गुमान भुजेलले ५ सय बोट अकबरे खुर्सानी लगाएका छन् । उता बलम्ताका किसान सुजता राईले मात्रै ५ हजार बोट अकबरे खुर्सानीको खेती गरेका छन् । यस बर्ष लगाईएको अकबरे खेती सफल भएमा १० हजार बोट आगामी बर्ष लगाउने तयारी रहेको ताम्लीछाका अगुवा युवा कृषक हरि भट्टराई बताउनु हुन्छ ।
अकबरे खुर्सानी खेती तर्फ किसान आकर्षित हुदै गर्दा बढि उत्पादन भएर अकबरेले बजार नपाउने हो कि भन्ने चिन्ता पनि अर्को तर्फ रहेको कृषक महासेर राई बताउनु हुन्छ । गाउँपालिकामा व्यवसायीक रुपमा ४६ घरका किसानहरुले व्यवसायीक रुपमा अकबरे खेती गरी रहेको लिम्चुङबुङ गाउँपालिकाका कृषि प्राविधिक गगन राईले बताउनु भयो । गाउँपालिकाभरी करिब ९० रोपनी क्षेत्रफलमा यस बर्ष किसानहरुले अकबरे खोर्सानीको खेती गर्नु भएको छ, समग्रमा यस बर्ष २५ हजार टन सम्म लिम्चुङबुङमा मात्रै अकबरे खोर्सानी उत्पादन हुने संभावना रहेको राई बताउनु हुन्छ । राईका अनुसार किसानहरुलाई बिक्रि नभएको खण्डमा खोर्सानीलाई प्रशोधन गरेर अचार उत्पादन गर्नका लागि तीन दिने तालिम समेत प्रदान गरिएकाले अकबरेको अचार समेत उत्पादन गर्न सकिने बताउनु हुन्छ । गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकालाई पर्यटन र कृषि मार्फत आत्मनिर्भर र समृद्धि तर्फ अघि बढाउनको लागि अकबरे खुर्सानी खेती कोसे ढुंगा सावित हुने बताउनु हुन्छ ।