उपहार न्यूज
कटारी जेठ १७
कटारी नगरपालिका उदयपुरको नवनिर्मित प्रशासकीय भवन शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कटारी नगरपालिका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले संयुक्त रुपमा नगरपालिकाको भवन उद्घाटन गर्नु भएको हो ।
नगर प्रमुख श्रेष्ठ र उपप्रमुख खड्काले नवनिर्मित भवनको संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हो । नगरपालिका भवन उद्घाटन संगै अब कटारी नगरपालिकाको सम्पूर्ण प्रशासकीय कामहरु नव निर्मित भवनबाट हुने छ । २०७२ सालमा भवन निर्माणको लागि तत्कालिन कार्यालय प्रमुख पुण्यप्रसा पौडेलको समयमा भवन निर्माणको लागि शिलन्यास गरिएको थियो ।
भवन निर्माण सुरु भएको १० बर्ष पछि कटारी नगरपालिकाले सुविधा सम्पन्न भवन पाएको हो । भवन उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका सदस्य विष्णु कटुवाल, कटारी नगरपालिकाका संस्थापक नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रयास कार्की, स्थानिय राजनैतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि, पत्रकार, विभिन्न क्षेत्रका समाजसेवी व्यक्तित्वहरुको कार्यक्रममा उपस्तिथी रहेको थियो ।
कार्यक्रममा कटारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका राजन थापालाई स्वागत गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले नगरपालिकाको नव निर्मित प्रशासकीय भवनबाट जनप्रतिनिधि र कर्मचारीहरुले नागरिकमैत्री सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएका थिए । नगरपालिका क्षेत्रमा अझै पनि विभिन्न समस्या, चुनौती रहेकाले नगरपालिकाले गम्भीरताका साथ पालिकाको समस्याहरुलाई सामाधान गर्न तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्काले आफुहरु नगरबासीको भावनाको सम्मान गर्दै नगरपालिकाको अधुरा कामहरु पुरा गर्न तर्फ लाग्ने बताउनु भयो ।



