अजम्बर मगर-
बेलका, वैशाख १५ ।
उदयपुरको बेलकामा यसअघि बिभिन्न समय बेग्लाबेग्लै ठाउँबाट बरामद गरिएको प्रतिबन्धित लागुऔषध गाँजा नष्ट गरिएको छ । ठूलो परिमाणमा बरामद अवैध लागूऔषध सोमबार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नष्ट गरेको हो ।
इप्रका रामपुरको कार्यालय परिसरमा करिब १ हजार ७७४ किलो ३ सय ८७ ग्रामभन्दा बढी गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । उदयपुर जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रतिनिधि, बेलका नगरपालिकाका प्रतिनिधि वडा नम्बर ९ का जनप्रतिनिधि सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रतिनिधि र पत्रकारको उपस्थितीमा गाँजा आगो लगाइएको हो ।
इप्रका रामपुर ठोक्सीलाका इन्चार्ज प्रहरी निरीक्षक मौसम उदाशका अनुसार अवैध रुपमा जिल्लाको पूर्वी नाका प्रयोग गर्दै बिक्री, प्रयोग तथा कारोवारका लागि लैजाँदै गरिएको गाँजा बिभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको थियो ।