उपहार न्यूज
गाईघाट चैत २२
त्रियुगा नगरपालिका वडा नम्बर २ को आर्थिक बर्ष २०८१/०८२ को दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आफ्नै कार्यक्रम हलमा आयोजित कार्यक्रममा ठूलो संख्यामा स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानिय नागरिकहरुले वडा भित्रका स्थानिय समस्या, विभिन्न बिषयमा सुझाब तथा खबरदारी गर्नुका साथै प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा सहभागीका प्रश्न, जिज्ञासा र सुझाबलाई कार्यक्रमका प्रमुख जवाफदेहि एवंम त्रियुगा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष घमानसिंह खत्रीले संवोधन गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष खत्रीले चालु आर्थिक बर्षमा वडामा संचालित विनियोजित बजेट तथा कार्यक्रमको कार्यान्वयनको अबस्था साथै वडामा संचालित विभिन्न विकास निर्माणका कामहरुको बिषयमा हाल सम्मको वडाले संचालन गरेको कार्यक्रमको बिषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।
वडााअध्यक्ष खत्रीले त्रियुगा नगरपालिका वडा नम्बर २ मा भएका स्थानिय समस्याहरुलाई वडाको तहबाट हुन सक्ने सामाधानको लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले नागरिकलाई सहज तरिकाले सेवा प्रदान गर्नका लागि आफुहरु प्रतिबद्ध भएर लागेको समेत बताउनु भयो ।
उहा त्रिनपा २ विपदको दृष्टिकोणले समेत जोखिपूर्ण स्थान भएको संघ तथा प्रदेश सरकार संग स्थानिय समस्याको बिषयमा अवगत गराउने तथा विभिन्न विकासका योजनाहरुको बिषयमा पहल गरिएको समेत बताउनु भयो ।
कार्यक्रमको सहजीकरणको जिम्मेबारी प्राप्त सि.जि मिडिया एजेन्सीको तर्फबाट सार्वजनि सुनुवाई कार्यविधि बमोजिम स्थानिय नागरिकहरु संग विभिन्न प्रश्नावलीमा गरिएको नागरिक अभिमत पत्र र वहिर्गमन अभिमतपत्र बाट प्राप्त प्रतिवेदन सहजकर्ता देवराज राईले प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रममा वडा सचिव मनकुमार थापाले वडामा दोस्रो चौमासिक अवधि सम्मको वडाको पंजीकरण तथा राजश्व संकलनको अबस्थाको बिषयमा नागरिकहरुलाई जानकारी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मनतव्य राख्दै वडा सदस्य अर्जुन पोख्रेलले सार्वजनिक सुनुवाई वडाले हाल सम्म संचालन गरेको कामहरुको पारदर्शीताको लागि सेवा प्रदायक र सेवाग्राहिको विचमा तेस्रो पक्षबाट हुने मुल्यांकन तथा अन्तरसंवाद भएकाले नागरिकहरुले यो अबसरको सदुपयोग गर्नु पर्ने बताउनु भयो । उहाँले सार्वजनिक सुनुवाईमा प्राप्त सुझाब, प्रश्न र जिज्ञासाले आगामी दिनमा वडालाई आफ्नो निति तथा कार्यक्रम तय गर्नका लागि समेत मद्दत पुग्ने बताउनु भयो ।
कार्यक्रमको सहजीकरण सि.जि मिडियाका प्रमुख सहजकर्ता विश्वराज तामाङले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, सामुदायीक वनका प्रतिनिधि, स्थानिय विद्यालयका विव्यस तथा शिक्षक प्रतिनिधि, स्थानिय महिला, युवा लगायतको उपस्तिथी रहेको थियो ।