किरण ढुंगाना
उदयपुर, मंसिर २५ ।
उदयपुरको जलजलेमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का अवसरमा मुस्लिम र मुसहर समुदायका हक अधिकारका विषयमा प्यानल छलफल गर्दै सम्पन्न गरिएको छ । मदिना मन्जरी नजबुल फाउन्डेसन उदयपुरको आयोजनामा प्रदेश सरकारको सहयोगमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले बिपन्न समुदाय लक्षित यस्ता अभियानले क्षमता विकास र सशक्तीकरणमा महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।
उहाँले लैङ्गिक हिंसाका घटनालाई टोलमै मिलाउनुभन्दा सम्बन्धित निकायमा रिपोर्ट गर्न आग्रह गर्दै न्यायिक समितिलगायत निकायहरूलाई सक्रिय रूपमा प्रयोग गर्न सहभागीहरूलाई प्रोत्साहित गर्नुभयो । कार्यक्रमको प्यानल छलफलमा बाल विवाह, कुप्रथा, घरेलु हिंसा, लागू औषध र मादक पदार्थ नियन्त्रण, तथा कानुनी प्रावधानका सम्बन्धमा सहभागीहरूले प्रश्न उठाएका थिए। सहभागीहरूको जिज्ञासा महिला अधिकारकर्मी नजबुल खान, प्रहरी नायव उपरीक्षक राजन चापागाईं, वरिष्ठ मनोपरामर्शकर्ता रञ्जना ताजपुरिया, जिल्ला समन्वय समिति सदस्य मञ्जु परियार, वडा नं. ६ का सदस्य सूर्य राई, मुसहर र मुस्लिम समुदायका अभियन्ताहरूले सम्बोधन गरेका थिए ।
फाउन्डेसनकी अध्यक्ष नजबुल खान (निलम) ले मुस्लिम र मुसहर समुदायका महिलाहरूलाई समाजमा नेतृत्वदायी भूमिकामा अघि बढाउन सबैले साथ दिनुपर्ने बताउँदै महिला अधिकारका लागि हरेक तहमा महिलाको उपस्थिति आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा मुस्लिम र मुसहर समुदायका महिला, बालबालिका, बाल संजालका प्रतिनिधि, महिला तथा बालबालिका सम्बन्धी काम गर्ने संस्थाका प्रतिनिधि, सुरक्षा निकायका सदस्य, पत्रकारलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रञ्जना कार्की र रञ्जु दनुवारले गर्नुभएको थियो भने स्वागत मन्तव्य पवित्रा खातुनले दिनुभएको थियो ।