शंकर रिखाम मगर-
उदयपुर, वैशाख १५ ।
उदयपुरको ताप्ली गाउँपालिका- ५ लाई बालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक पूर्वाधार तथा अवस्थाबारे अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मा, उपप्रमुख तेजपसाद गिरी र जिल्ला समन्वय अधिकारी गजेन्द्रनाथ शर्मालगायतको टोलीले वडा क्षेत्र अनुगमन गरेको हो ।
टोलीमा ताप्ली गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष ढुंगराज विश्वकर्मा, उपाध्यक्ष धनामाया मगर, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईलगायत कार्यपालिका टिम र वडा अध्यक्षहरुसहित शिक्षक प्रतिनिधि, जाल्पा एकीकृत बिकास समाज उदयपुरका सचिब सुमन परियारसहित पत्रकारहरुको पनि सामूहिक उपस्थिती थियो ।

वडा बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरुको अनुगमन गर्ने क्रममा विद्यालयको आवश्यक पुर्वधार र प्रारम्भिक वालविकास केन्द्रको अनुगमन गरिएको थियो । ‘बाल बचाऊ’ तर्फ १४, बाल संरक्षण तर्फ १०, बालविकास तर्फ ६, बाल सहभागिता तर्फ ६ र संस्थागत विकासका तर्फ १५ गरी जम्मा ५१ सूचक पूरा गर्नु पर्ने प्राबधान छ ।
टोलीले अनुगमनको क्रममा वडाले बालमैत्री घोषणा हुनका लागि हालसम्म कुल ९० प्रतिशत सूचक पूरा गरेको निस्कर्ष निकालेको छ । बाकी सूचकहरुको काम पूरा भए जेठ पहिलो हप्ताभित्र नै बालमैत्री वडा घोषणा गर्न सकिने अनुगमनको नेतृत्वकर्ता जिसस प्रमुख बिस्वकर्माले आयोजक वडालाई सुझाएका थिए ।
पूर्व तयारी चरण, तयारी चरण पूरा भएको र घोषणा चरणको समय अगाडि सम्पूणर् क्रियाकलाप सम्पन्न गरी कागजी प्रक्रिया सकिएपछि सम्बन्धित निकायहरुमा खबर गरिने बालमैत्री स्थानीय शासनसम्बन्धी कार्यरत कर्मचारी केशबकुमार रायाले जानकारी दिए । साथै बालमैत्री वडा घोषणासँगै नीतिगत तथा कार्यन्वयनका चरणहरु पूरा गरिने रायाको भनाई छ ।
