उपहार न्यूज
उदयपुर चैत १९
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने गरी वैधनाथ खोलामा पक्की पुल निर्माण सम्पन्न भए संगै उद्घाटन गरिएको छ । एक कार्यक्रमका विच सोमबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुलको उद्घाटन गर्नु भएको हो ।
मुख्यमन्त्री कार्की संगै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगु, कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव असोक कुमार साहले पुलको उद्घाटन गर्नु भएको हो ।
पुल निर्माणको लागि केएम इन्जिनियर विल्डर्स प्रा.लि काठमाण्डौले २०७९ पौष ८ गते निर्माणको लागि सम्झौता गरेको थियो । सम्झौता बमोजिम निर्माणको लागि २०८१ पौष ७ गते सम्म अवधि भए पनि सम्झौता अवधि भन्दा ९ महिना अघिनै पुल निर्माण सम्पन्न भएको हो ।
कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण कार्यान्वयन गरेको पुल निर्माणको लागि प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको थियो ।
प्रिस्ट्रेड आरसिसि प्रविधिको पुल ८४.२० मिटर लम्वाई रहेको छ ८.४० मिटर चौडाई क्यारिज वे ६ मिटर फुटपाथ चौडाइ १.२० मिटर दुवै तर्फ रहेको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख डिभिजन इन्जिनियर ललित चौधरीले जानकारी दिनु भयो ।
मुल्य अभिवृद्धि कर सहित कुल १४ करोड ९४ लाख ७३ हजार एक सय रुपैया ९८ पैसाको सम्झौता बमोजिम पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रशासन तथा योजना शाखा प्रमुख नवराज गिरीले जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगु, कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री, प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार,
प्रदेश सभा सदस्य गीता रेग्मी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव असोक कुमार साह, संविधान सभा सदस्य नारायण बहादुर कार्की, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्मा, त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, कटारी नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठ, उप प्रमुख गीता खड्का, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जीत बहादुर खड्का , पूर्व प्रदेश सभा सदस्य कला घले, त्रियुगा नगरपालिकाका पूर्व उपप्रमुख देवीकुमारी चौधरी, लगायतको सुरक्षा निकायका प्रमुख, स्थानिय तहका जनप्रतिनिधि, स्थानिय नागरिक, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।
पुल निर्माण सम्पन्न भए संगै रिस्कु र सोमबार जोडिए संगै वर्खायाममा बाढिका कारण हुने यातायात अवरोध टरेर गएको स्थानियले बताएका छन् । वैद्यनाथ खोलामा निर्माण भएको यो पुलले कटारी नगरपालिका मात्रै नभएर उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिकालाई समेत राहत पुगेको कटारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुविन ढुंगानाले वताउनु भयो ।
कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव असोक कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा स्वागत पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख डिभिजन इन्जिनियर ललित चौधरी तथा कार्यक्रम संचालन सहजीकरण पूर्वाधार विकास कार्यालय उदयपुरका योजना तथा प्रशासन शाखा प्रमुख नवराज गिरीले संचालन गर्नु भएको थियो ।


