शौरभ मगर-
उदयपुर, पुस २५ । उदयपुरको एक मात्र सामुदायिक स्तरमा सञ्चालित संगम पुस्तकालयले तेस्रो कार्यकालका लागि संचालक समितिको नेतृत्व चयन गरेको छ । सदरमुकाम गाईघाट बजारस्थित संगमटोलमा रहेको पुस्तकालय संचालक समितिमा स्थानीय भरत खड्कालाई लगातार तेस्रो पटक अध्यक्ष चयन गर्दै २० औँ साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको हो ।
त्यस्तै समितिको उपाध्यक्ष गीताकुमारी कार्की, महासचिव विनोद खतिवडा, सचिव राजेन्द्रप्रसाद साह, कोषाध्यक्ष रेवतीरमण गेलाल चयन भएका छन् । कार्यसमितिका भर्खरै चयन भएका कार्की, खतिवडा, साह, गेलाल सबै तेस्रो पटक कार्यकालका लागि दोहोरिएका हुन् । सदस्यहरु पवित्राकुमारी राई, मुनु खड्का, टंकप्रसाद गुरागाई, मदनराज कटुवाल, भीमबहादुर खड्का, रेखा चौधरी चयन भएका छन् । सदस्यहरुमध्ये रेखा नयाँ हुन् ।
नयाँ चयन भएको समितिलाई निर्वाचन मण्डलका संयोजक तथा संगम पुस्तकालयका संस्थापक मोहनबहादुर कार्कीले सपथग्रहण गराएका थिए । संयोजक कार्कीसँगै पुष्पराज सिग्देल, प्रकाश खड्का, लक्ष्मीप्रसाद दाहाल र अन्जना बस्नेत निर्वाचन समितिमा सदस्य रहेका थिए । समितिमा भर्खरै चुनिएका अध्यक्ष खड्का २०६९ सालदेखि नेतृत्वमा रही पुस्तकालय व्यवस्थापनमा जुट्दै आएका छन् ।
‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ नारासहित संचालित पुस्तकालयमा हाल १२५ जना आजीवन सदस्य छन् । २० जना साधारण सदस्य रहेका छन् । अनौपचारिक शिक्षाको स्रोतमध्ये महत्वपूणर् मानिने पुस्तकालयका लागि स्थानीय सरकारले बजेट नछुट्याएर बेवास्ता गरेको अध्यक्ष भरत खड्काको भनाई छ । ‘पठन संस्कृतिलाई विकास गर्दै सिक्ने सिकाउने प्रक्रियामा प्रभावकारी हुने पुस्तकालय सरकारबाट उपेक्षित हुनु दुःखद हो’ खड्काले भने ।
