उदयपुर, मंसिर २१ ।
छिमेकी मुलुक भारतको जेलभित्र बन्दी जीवन बिताइरहेका एक युवकको रिहाईका लागि पहल थालिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ दमौटी घर भएका युवकको रिहाईका लागि नेकपा एमालेका नेता तथा समाजसेवी भागवत राउतको नेतृत्वमा बन्दी उमेश मगरलाई नेपाल ल्याउन पहल सुरु भएको हो ।
‘तोकिएको धरौटी भुक्तान गरेर उद्धार गर्न सकिने रहेछ’ बिगत पाँच वर्षयता बन्दी जीवन बिताइरहेका उमेश नेपाल फर्काउन पहलकर्ता राउतले भने, ‘जेलमा तिर्ने रकम लगभग जुटिसक्यो ।’ माग गरिए अनुसारको रकम बुझाएर चाँडै ती युवकलाई नेपाल ल्याउने तयारी भइरहेको राउतको भनाई छ । जेलभित्र रहेका उमेशको अवस्था बुझ्न र आवश्यक समन्वयका लागि भारतमै रहेका नेपाली पठाइएको उनले जानकारी दिए ।
नगरपालिकाकै बिकट क्षेत्रअन्तर्गत दमौटीका स्थानीय उमेश १७ वर्षको उमेरमा घरको दुःख टार्न भन्दै पैसा कमाउन भारत गएका थिए । उनीसँगै गएका अन्यभने फर्किसकेका छन् । तर लामो समयदेखि सम्पर्कबिहीन रहेका उनी एक्कासी भारतीय जेलभित्र दैनिकी बिताइरहेको खबर आएसँगै परिवार चिन्तामा डुबेको छ ।
धरौटी तिर्न नसकेकै कारण जेलजीवन भोगीरहेको खबर बिभिन्न सञ्चारमाध्यममा छाएसँगै पछिल्लो स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयर पदका पराजित उम्मेदवार समेत रहेका एमाले नेता भागवत राउत, अर्का नेता इश्वरमणी राउत, त्रिनपा ५ का जनप्रतिनिधि (वडा सदस्य कुवेरकुमार मगर र पत्रकारसहितको टोली पीडितको घर पुगी परिवारसँग छलफल गरेको थियो । उमेशका परिवार आर्थिक रुपमा अत्यन्तै नाजुक भएकाले छोरा छुट्याउन लाग्ने रकम समेत जुटाउन नसक्ने अवस्थामा रहेको सो क्षेत्रका वडा सदस्य मगरको भनाई छ ।
५ वर्षदेखि जेलभित्र रहेका उमेशको घर पुगेर तयार पारिएको भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् ।