उदयपुर, मंसिर ९ ।
उदयपुरका भएको स्कुल बस दुर्घटनाका घाइतेहरुका लागि आँखा अस्पतालले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । गम्भीर अवस्था देखिएकालाई तत्काल बाहीर रेफर गरिएको र जिल्ला अस्पताल बाक्सेमा उपचार गराइरहेकालाई पनि आवश्यक परे धरान, बिराटनगर लैजान र ल्याउनका लागि बासबारीस्थित मदन भण्डारी आँखा अस्पतालले आफ्नो एम्बुलेन्स शूल्करहित उपलब्ध गराउने भएको हो ।
‘घाइतेहरुलाई गाईघाटदेखि धरान बिराटनगरसम्म उपचारका लागि लैजान र ल्याउन मदन भन्डारी आँखा अस्पतालको तर्फबाट निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यबस्था मिलायको छु’ नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले भने, ‘घाइतेहरुको आर्थिक अवस्था हेरी स्थानीय सरकारले नै उपचारको व्यवस्था समेत गर्न ध्यानाकर्षण गर्दछु ।’ जिल्ला अस्पतालबाट रेफर गरिएका घाइते धरान या बिराटनगरसम्म लैजान र ल्याउन भागबत राउत ९८५१११११८८ कृष्णकुमार भण्डारी ९८५२८३०५७३ र कुमार घिमिरेलाई मोवाईल नम्बर ९८६२८३८६५५ मा सम्पर्क गरी निशुल्क सेवा लिन सकिने अस्पताल प्रशासनले जनाएको छ । जसअनुसार भर्खरे मात्र २६ वर्षीय घाइते देवनारायण चौधरीलाई आँखा अस्पतालले उपलब्ध गराएको निशुल्क एम्बुलेन्स सेवाबाट बिराटनगर लगिएको छ ।
शनिबार दिउँसो मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको मुर्कुची नेपालटार बीचको पुल नजिकैको सडकमा स्कुल बस दुर्घटना हुँदा सवार तीन जनाले ज्यान गुमाइसकेका छन् । घटनामा गम्भीर र सामान्यसहित ३६ जना घाइते भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर- ५ देउरीस्थित अन्नपूणर् सेकेन्डरी स्कुलको विद्यार्थी बोकेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लोकबहादुर दियालीले जानकारी दिए ।
उदयपुरगढी गाउँपालिका वडा नम्बर- ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक ४० वर्षीय भिखन चौधरी, ७ वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको उदयपुर प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीको भनाई छ । डिएसपी चौधरीका अनुसार दुर्घटना स्थलबाट तत्काल उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पतालमा ल्याइएको थियो । बोक्सेमा उपचार हुन नसकेपछि ७ जनालाई तत्कालै मोरङको बिराटनगर रेफर गरिएको थियो । घटनालगत्तै उद्धार कार्यमा पुगेका प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त स्कुल बसको पछाडी सीटमा बस्ने ५/६ जना बालबालिका भने सकुशल आफै बाहीर निस्कीएका थिए ।
