उदयपुर, मंसिर ६ ।
उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न ठाउँको मुख्य तथा सहायक सडकहरुमा बत्ति जडान कार्य सुरु भएको छ । पर्याप्त उज्यालो हुने गरी बिजुली बत्तिको अभावमा हुन सक्ने सवारी दुर्घट, चोरी र पैदल यात्रुहरुलाई समेत असहज हुने समस्या मध्यनजर गर्दै त्रियुगा नगरपालिकाले बिनियोजन गरेको ४२ लाख रकमबाट ‘फर्ड’ र ‘स्ट्रीट लाईट’ राख्न थालिएको हो ।
जसका लागि ठेक्का भने पुन्यनेत्र सप्लायर्सले पाएको छ । सप्लायर्स संचालक ठेकेदार बद्री बरालका अनुसार बिभिन्न तीन ठाउँमा फर्ड लाईट जडान भइसकेको छ । उनका अनुसार अहिलेसम्म त्रियुगा बसपार्क नजिक, गाईघाट बजारस्थित बिपी चोकदेखि डेढसय मिटर पूर्वको डिभाईडर र बासबारीको आँखा अस्पताल नजिकै गरी तीन वटा फर्ड लाईट राख्ने काम सकिएको हो । पूणर् रुपमा काम भने अझै पनि हप्ता दशदिनभित्र देखि मात्र सुरु गर्ने भएपनि छठ पर्वलाई मध्यनजर गर्दै तीन ठाउँमा भने तत्कालै जडान गरिएको ठेकेदार बरालले उपहारन्यूजलाई जानकारी दिए ।
नगरपालिका र निर्माण जिम्मेवारी पाएको सप्लायर्सबीच बत्ति जोड्ने कार्य ६ महिनाभित्र सम्पन्न हुनुपर्ने सम्झौता भएको छ । यसैगरी बजार क्षेत्रको बीच डिभाईडरमा ३५ वटा पोलसहित स्ट्रीट लाईट जडान गरिने । जहाँ दुवैतर्फको सडकतिर उज्यालो पर्ने गरी बत्ती झुन्ड्याइनेछ । सम्झौतामा ६ महिना भनिएपछि आफूले महिनादिन मित्रै काम सम्पन्न गर्न सक्ने ठेकेदार बरालको भनाई छ ।
ठेक्का लिने सप्लायर्सका अनुसार फर्ड र स्ट्रीट लाईट भारतबाट खरिद गरेर ल्याइनेछ । पोल (खम्बा) भने बिराटनगरबाट ल्याइने भएको छ । दुवै प्रकारका लाईटको पोल गाड्दा ६ फिट गहिराई मापन तोकिएको छ । गाईघाट बजारको मुख्यचोक हुँदै जाने मदन भण्डारी राजमार्गअन्तर्ग बिपी चोकदेखि आँखा अस्पताल र मुख्य चोक (हाल गाईको प्रतिमा राखिएको ठाउँ) देखि नियुगा बसपार्कसम्मको डिभाईडरबीचमा पोल गाडेर बत्ति जडान गरिने बताइएको छ । त्यस्तै कामको अनुगमन भने त्रियुगा नगरपालिकाका प्राबिधिक शाखाका इन्जीनियर शैलेन्द्र मण्डलको नेतृत्वमा हुनेछ । सम्झौता भएको मितिदेखि २ वर्षभित्र पोलका बत्तिहरु बिग्रीए ठेकेदार आफैले मर्मत गर्ने पनि ठेकेदार बरालले जानकारी गराए ।
Link Click please-