उदयपुर, कात्तिक १ ।
उदयपुरमा खाना पकाउने कुकर प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतिको ज्यान लिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– ५ श्रीपुरमा ति युवकले राती ओछ्यानमा सुतिरहेकी श्रीमतिलाई कुटपिट गरी ज्यान लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक छविमाया राई दशैं एकै ठाउँमा मनाउने योजना बनाएर श्रीपुरस्थित दिदीको घरमा आएकी थिइन् । पाहुनाको रुपमा श्रीमान्सँगै दिदीको घर आएकी उनको हत्या गर्नुको कारण भने अहिलेसम्म खुली नसकेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न पुरुषको पहिचान भने प्रहरीले खुलाएको छैन । मृतक २८ वर्षीया छविमाया र आरोपित श्रीमान् लामो समयदेखि भारतमै मजदुरी गर्दै बस्दै आएका थिए । छविमायाको माईत उदयपुरकै सिधाली हो भने घर नागबेली भएको बुझीएको छ ।
घटनाबारे बिस्तृत जानकारी दिन जिल्ला प्रहरी कार्यालय उदयपुरले आज दिउँसो १ः०० बजे पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ । घटनास्थलमा रगत लतपतिएको कुकर र भड्डु भाडा प्रहरीले बरामद गरेको छ । संलग्न श्रीमान्लाई घटनास्थलबाटै नियन्त्रणमा लिई जिप्रका उदयपुरको हिरासतमा सोधपुछ थालिएको छ ।
घटनास्थलको भिडियो हेर्नुहोस् ।